काठमाडौं। चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनसम्म कुल विदेशी विनिमय सञ्चिति ३१ खर्ब ९४ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो सञ्चिति ३१ खर्ब ८७ अर्ब ६७ करोड रुपैयाँ रहेकोमा एक महिनामा ०.२ प्रतिशतले बढेको हो।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विदेशी मुद्रा सञ्चितिमा निरन्तर सुधार देखिएको छ। अमेरिकी डलरमा पनि विदेशी मुद्रा सञ्चिति बढेको छ।
गत असार मसान्तमा २५ अर्ब ३१ करोड अमेरिकी डलर रहेको कुल सञ्चिति साउन मसान्तमा २५ अर्ब ८४ करोड डलर पुगेको छ। अर्थात् डलरमा सञ्चिति २.१ प्रतिशतले बढेको छ।कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति साउन मसान्तसम्म ३५ खर्ब १७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।
गत असार मसान्तमा राष्ट्र बैंकसँग ३४ खर्ब ३७ अर्ब १९ करोड रुपैयाँ रहेको थियो। यस अवधिमा राष्ट्र बैंकको सञ्चिति १.३ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भने ४ खर्ब २८ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ।
गत असार मसान्तमा यस्तो सञ्चिति ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ थियो।साउन मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
चालु खाता ९४ अर्ब ५९ करोड बचत
समीक्षा अवधिमा नेपालको चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड रुपैयाँले बचतमा थियो।अमेरिकी डलरमा पनि चालु खाता बचत बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड डलर बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ६२ करोड डलर बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ४ करोड रुपैयाँ थियो। प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० भने समीक्षा अवधिमा १ अर्ब १ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ६९ करोड रुपैयाँ रहेको थियो।
शोधानान्तर स्थिति ९० अर्ब ३४ करोड बचतमा
समीक्षा अवधिमा नेपालको शोधानान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधानान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा थियो।
अमेरिकी डलरमा भने शोधानान्तर स्थिति अघिल्लो वर्षको सोही अवधिमा ६४ करोड डलर बचतमा रहेकोमा समीक्षा अवधिमा ५९ करोड डलर बचतमा रहेको छ।विदेशी मुद्रा सञ्चितिमा भएको सुधारसँगै मुलुकको आयात धान्न सक्ने क्षमता पनि बलियो देखिएको छ।
आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले करिब २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ५९.६ प्रतिशत, १५७ प्रतिशत र ४४।५ प्रतिशत रहेको छ। अघिल्लो असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए।