एजेन्सी- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन्। उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन्।
यसैविच भारत र नेपालबीच व्यापार, पारवहन तथा अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी भारत–नेपाल अन्तरसरकारी उपसमितिको बैठक सेप्टेम्बर १६–१७ मा नयाँ दिल्लीमा सम्पन्न भएको छ।
बैठकमा व्यापार, पारवहन र कनेक्टिभिटीसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल भएको भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ।
भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य विभागका संयुक्त सचिव उज्ज्वल कुमार घोषले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संयुक्त सचिव बुद्धबहादुर गुरुङले गरेका थिए। बैठकमा दुवै देशका सम्बन्धित मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।
मन्त्रालयका अनुसार आइजीएससी व्यापार तथा व्यापारसम्बन्धी विषयहरूको विस्तृत अध्ययन तथा द्विपक्षीय व्यापार र पारवहनलाई सहज बनाउन स्थापित संस्थागत संयन्त्र हो।
बैठकमा दुवै पक्षले बजार पहुँच, भन्सार तथा व्यापार सहजीकरण, मापदण्ड, खाद्य सुरक्षा, वनस्पति स्वास्थ्यसम्बन्धी उपाय, औषधि, मेडिकल उपकरण, आयुर्वेद तथा आयुषजन्य उत्पादन, सीमा पूर्वाधार तथा रेल र सडक कनेक्टिभिटीका विषयमा छलफल गरेका थिए।
भारतीय तथा नेपाली उत्पादनहरूका लागि थप बजार पहुँच सहज बनाउने उपायहरूबारे पनि छलफल भयो। जसमा कृषि तथा दुग्धजन्य उत्पादन, खाद्य सामग्री, औषधि, मेडिकल उपकरण तथा आयुषजन्य उत्पादनहरू समावेश छन्।
दुवै पक्षले पूर्वआगमन सूचना आदानप्रदान, उत्पत्तिको प्रमाणपत्रको विद्युतीय प्रमाणीकरण तथा भन्सार प्रक्रियाको स्वचालन र डिजिटलाइजेसनजस्ता उपायमार्फत भन्सारसम्बन्धी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल गरेका छन्।
छलफलको मुख्य उद्देश्य वैध व्यापारलाई सहज बनाउनुका साथै लागू हुने नियमहरूको पालना सुनिश्चित गर्ने र प्राथमिकताप्राप्त व्यापार व्यवस्थाको दुरुपयोग रोक्ने संयन्त्रलाई बलियो बनाउनु रहेको मन्त्रालयले जनाएको छ।
पारवहन तथा कनेक्टिभिटी पनि बैठकको महत्वपूर्ण विषय बनेको थियो। दुवै पक्षले रेल तथा सडक कनेक्टिभिटी, मालवाहक वस्तुको आवागमन, एकीकृत जाँच चौकी तथा स्थल बन्दरगाहको पूर्वाधारको समीक्षा गरेका थिए।
द्विपक्षीय तथा पारवहन व्यापारमा देखिएका सञ्चालनसम्बन्धी अवरोधहरू समाधान गर्नुका साथै विद्यमान पूर्वाधारको अधिकतम उपयोग गर्ने विषयमा पनि छलफल भएको थियो।
भारत र नेपालले मापदण्ड, खाद्य सुरक्षा, वनस्पति क्वारेन्टिन तथा अनुरूपता मूल्याङ्कनका क्षेत्रमा जारी सहकार्यको स्वागत गरेका छन्। यसअन्तर्गत संस्थागत सहकार्य तथा क्षमता अभिवृद्धिका पहलहरू पनि समावेश छन्।
दुवै पक्षले वैध सीमापार व्यापारलाई सहज बनाउन तथा अनधिकृत व्यापार र व्यावसायिक ठगीसँग सम्बन्धित समस्याहरू समाधान गर्न सम्बन्धित निकायहरूबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।
बैठक सौहार्दपूर्ण र रचनात्मक वातावरणमा सम्पन्न भएको थियो। दुवै पक्षले स्थापित संस्थागत संयन्त्रमार्फत निरन्तर नजिकको सम्पर्क कायम राख्ने तथा थप प्राविधिक अध्ययन आवश्यक पर्ने विषयमा समयबद्ध रूपमा फलोअप गर्ने सहमति गरेका छन्।
भारत र नेपालबीच ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक रूपमा घनिष्ठ सम्बन्ध रहेको छ। भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा महत्वपूर्ण लगानी स्रोत रहेको मन्त्रालयले जनाएको छ।
उक्त बैठककै बीच नेपालका अर्थमन्त्री डा.वाग्ले बिहीबारदेखि तीनदिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेका हुन्।
बिहीबार भारतकी केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले नेपालका वाग्लेसँग नयाँ दिल्लीमा भेटवार्ता गरेकी थिइन्।
भेटमा द्विपक्षीय आर्थिक सम्बन्ध तथा नेपालमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि भारतको सहयोगबारे छलफल भएको थियो।
नेपालका अर्थमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेपछि वाग्लेको यो भारतको पहिलो औपचारिक भ्रमण हो। उक्त उच्चस्तरीय भेटवार्तामा भारतका विदेश सचिव तथा आर्थिक मामिला विभागका सचिव पनि सहभागी थिए।
नेपालमा हालै आएको प्राकृतिक विपत्तिबाट भएको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै भारतको अर्थ मन्त्रालयले एक्समा पोस्ट गर्दै भनेको छ, ‘अर्थमन्त्री निर्मला सीतारमणले नेपालमा हालै आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्नुभयो र नेपालको पुनःस्थापना तथा पुनर्निर्माणका लागि भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।’
छलफल मुख्य रूपमा ‘बाढीको प्रभाव तथा पुनर्निर्माण र पुनःस्थापनाका लागि नेपालका प्राथमिकता’ मा केन्द्रित थियो। नेपाली प्रतिनिधिमण्डलले भारतले तत्काल उपलब्ध गराएको सहयोगको प्रशंसा गरेको थियो।
‘डा.वाग्लेले भारतको सहयोगका लागि केन्द्रीय अर्थमन्त्रीलाई धन्यवाद दिनुभयो र राहत सामग्री तथा उद्धार एवं राहत कार्यका लागि प्राविधिक सहयोगसहित भारतले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो,’ मन्त्रालयले भनेको छ।
प्राकृतिक विपत्तिसम्बन्धी सहयोगबाहेक दुवै अर्थमन्त्रीले द्विपक्षीय सहकार्यका महत्वपूर्ण क्षेत्रहरूबारे पनि छलफल गरे।
आर्थिक सम्बन्धलाई थप बलियो बनाउन पूर्वाधार तथा सीमापार कनेक्टिभिटीमा विशेष ध्यान दिइएको थियो।
दुवै पक्षले भारत र नेपालबीचको व्यापार तथा आर्थिक साझेदारीलाई थप सुदृढ बनाउनु आवश्यक रहेकोमा जोड दिएका छन्।
द्विपक्षीय वार्तापछि नेपालका लागि भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपाली नियोगका कार्यवाहक राजदूत सुरेन्द्र थापाले भ्रमणमा रहेका नेपाली अर्थमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए।
भारतस्थित नेपाली दूतावासले एक्समा गरेको पोस्टअनुसार, कूटनीतिक कर्मचारीहरूसँगको अन्तरक्रियाका क्रममा डा.वाग्लेले नेपाल–भारत आर्थिक सम्बन्धबारे दूतावासका अधिकारीहरूसँग विचार आदानप्रदान गरेका थिए।
साथै, उनले द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन सक्रिय रूपमा काम जारी राख्न अधिकारीहरूलाई प्रोत्साहित गरेका थिए।
वाग्ले बिहीबार नयाँ दिल्ली पुग्नुअघि नेपाल अर्थ मन्त्रालयले उनको तीनदिने भ्रमणको उद्देश्यबारे जानकारी दिएको थियो।
भ्रमणका क्रममा उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमण तथा विदेशमन्त्री एस.जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। -एएनआइ