काठमाडौं- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारले १ खर्ब ९० अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार भदौ ३१ गतेसम्म सरकारले कुल १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ राजस्व तथा अन्य प्राप्ति संकलन गरेको हो।
सरकारले चालु आर्थिक वर्षमा कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ प्राप्तिको लक्ष्य राखेको छ। हालसम्म लक्ष्यको ११.५८ प्रतिशत रकम संकलन भएको छ।
कुल प्राप्तिमध्ये कर राजस्वबाट १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ। यो कर राजस्वको वार्षिक लक्ष्यको १२.२९ प्रतिशत हो। गैरकर राजस्वबाट १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ भने अनुदानबाट ५ अर्ब ५३ करोड ७ लाख रुपैयाँ प्राप्त भएको छ। भदौ ३१ गते मात्रै सरकारले ५ अर्ब ८६ करोड १० लाख रुपैयाँ प्राप्त गरेको छ। त्यसमध्ये कर राजस्व ५ अर्ब ४३ करोड ३७ लाख रुपैयाँ रहेको छ।
यस अवधिमा सरकारको कुल खर्च भने १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यो वार्षिक बजेटको ९.४१ प्रतिशत हो। कुल खर्चमध्ये चालु खर्च १ खर्ब २२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुगेको छ।
पुँजीगत खर्च भने निकै कम देखिएको छ। भदौ ३१ गतेसम्म सरकारले पुँजीगततर्फ ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्र खर्च गरेको छ, जुन वार्षिक लक्ष्यको १.७८ प्रतिशत हो। वित्तीय व्यवस्थातर्फ ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ।
एकै दिन भदौ ३१ गते सरकारको खर्च ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ भएको छ। यसमध्ये चालु खर्च ७ अर्ब ३७ करोड ९१ लाख र पुँजीगत खर्च ३९ करोड ८४ लाख रुपैयाँ रहेको छ।
यस तथ्यांकले चालु आर्थिक वर्षको सुरुआती अवधिमै सरकारको खर्च आम्दानीभन्दा बढी रहेको देखाएको छ। भदौ ३१ गतेसम्म कुल प्राप्तिभन्दा खर्च करिब ९ अर्ब ७३ करोड रुपैयाँ बढी भएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक रहेको र हिसाब मिलानपछि रकम परिवर्तन हुन सक्ने जनाएको छ।