बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रसुवा बाढी : मृत्यु हुनेको संख्या १४ सय ३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी : मृत्यु हुनेको संख्या १४ सय ३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं। रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४०३ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो। फेला परेका मृतकको विवरणमा ५४४ पुरुष, ३३६ महिला तथा ५२३ वटा आंशिक मानव अंगहरू रहेका छन्। बाढीमा परेर अझै ६ हजार १५० जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।

बाढीका कारण विभिन्न जिल्लाहरूमा मानवीय क्षति पुगेको छ। संकलित विवरण अनुसार सबैभन्दा धेरै चितवनमा ३९४ जनाको मृत्यु भएको छ। यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको ज्यान गएको छ। यस्तै उपचारका क्रममा काठमाडौंमा २ जनाको मृत्यु भएको छ। खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७४२ जनाको सकुशल उद्धार गरिएको छ।

घाइतेहरूको उपचार तथा स्वास्थ्य व्यवस्थापनतर्फ हाल विभिन्न १९ वटा अस्पतालमा ३४४ जना उपचाररत छन् भने २८९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकायहरूबाट ९ हजार ७०० जनालाई प्राथमिक तथा आकस्मिक उपचार सेवा प्रदान गरिएको छ। 

शव पहिचानका लागि १ हजार २८६ मृतक तथा १ हजार ८८९ आफन्तको डीएनए नमुना संकलन भइसकेको छ। डीएनए परीक्षणका लागि आफन्तहरूले २ प्रति फोटो र नाता प्रमाणितसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ। उद्धार कार्यमा नेपाली सेनामार्फत हालसम्म १ हजार ६०३ र सशस्त्र प्रहरी बलमार्फत ३२० वटा हवाई उडान सम्पन्न भएका छन्।

प्रभावित क्षेत्रमा हाल २९ वटा होल्डिङ सेन्टरहरू सञ्चालनमा छन्, जसमा नुवाकोटमा १ हजार १८५, रसुवामा ८१७ र धादिङमा ९४ जना आश्रित छन्। होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेल बढीमा ६ महिनासम्मका लागि सरकारले थप नगद राहत उपलब्ध गराउने भएको छ। जसअन्तर्गत ४ जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र ४ भन्दा बढी सदस्य भएमा प्रति सदस्य थप २ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिनेछ।

यसैबीच प्रभावित जिल्लाहरूमा सडक तथा हवाईमार्गमार्फत राहत सामग्री ढुवानीलाई निरन्तरता दिइएको छ। नुवाकोटको देवीघाटमा ‘एक्रो ब्रिज’ जडान गरी सडक सञ्चालनमा ल्याइएको छ भने इन्धन आपूर्तिका लागि ५९ हजार लिटर डिजेल, १५ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ। हालसम्म प्रभावित क्षेत्रमा ५०२ थान ग्यास सिलिन्डर समेत पठाइसकिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: Sep 16, 2026| 20:15 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्