बुधबार, भदौ ३१, २०८३

इरानविरुद्धको युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर नाघ्यो

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं- इरानविरुद्धको युद्धमा अमेरिकाको रक्षा विभागले अगस्ट १ सम्म ३८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ। युद्धको अवस्था र तीव्रताअनुसार आगामी दिनमा अमेरिकाले हरेक महिना ३ अर्ब डलर वा त्योभन्दा बढी खर्च गर्नुपर्ने अनुमान गरिएको छ।

गैरदलीय संस्था अमेरिकी कंग्रेसको बजेट कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार युद्धका कारण सन् २०२७ को पहिलो त्रैमासिकसम्म अमेरिकामा महँगी बढ्न सक्नेछ। तेल र प्राकृतिक ग्यासको आपूर्ति प्रभावित हुँदा महँगी पहिलेको अनुमानभन्दा करिब शून्य दशमलव ५ प्रतिशत बिन्दुले बढी हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।

इरानसँगको युद्धका कारण होर्मुज जलडमरूमध्यबाट तेल तथा प्राकृतिक ग्यासको आवागमन प्रभावित भएको छ। लाल सागरबाट हुने समुद्री ढुवानीमा समेत अवरोध आएको जनाइएको छ।

यो अनुमान अमेरिकी प्रतिनिधि सभाका सदस्य ब्रेन्डन बोयलले जानकारी मागेपछि तयार गरिएको हो। कंग्रेसको बजेट कार्यालयको अनुमान यसअघि रक्षा मन्त्री पीट हेगसेथले सिनेटमा दिएको ३७ अर्ब ५० करोड डलरको खर्च अनुमानसँग पनि नजिक छ।

प्रतिवेदनअनुसार खर्चको ठूलो हिस्सा युद्धमा प्रयोग भएका वा नष्ट भएका क्षेप्यास्त्र, हतियार र सैन्य उपकरण पुनः खरिद गर्न भइरहेको छ। युद्धमा मारिएका वा घाइते अमेरिकी सैनिकको उपचार तथा भविष्यमा दिइने स्वास्थ्य सेवा र अपांगता क्षतिपूर्तिको खर्च भने यसमा समावेश गरिएको छैन।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालयका महानिरीक्षकको प्रतिवेदनअनुसार फेब्रुअरी २८ देखि जुन ३० सम्म चलेको ‘अपरेसन एपिक फ्युरी’का क्रममा अमेरिकी ५० भन्दा बढी विमान, हेलिकोप्टर र ड्रोन नष्ट वा क्षतिग्रस्त भएका थिए। तीमध्ये ३० वटा एमक्यु–९ रिफर ड्रोन रहेका छन्।

इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, इराक, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य आधारका सयौँ भवनमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

अमेरिकाले चार एफ–१५ई, एउटा ए–१० थन्डरबोल्ट, एउटा ई–३ सेन्ट्री र एउटा एएच–६४ अपाचे हेलिकोप्टर गुमाएको जनाइएको छ। एउटा एफ–३५ए र सातवटा केसी–१३५ विमानमा समेत क्षति पुगेको थियो। इराकमा मार्च १२ मा इन्धन भर्ने क्रममा भएको दुर्घटनामा छ अमेरिकी सैनिकको मृत्यु भएको थियो।

प्रतिवेदनले अमेरिकी हतियार तथा गोला–बारुदको भण्डारमा दबाब बढेको र आपूर्ति व्यवस्थामा समेत समस्या देखिएको जनाएको छ। यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियारको अभाव रहेको दाबी अस्वीकार गर्दै अत्याधुनिक हतियार उत्पादन उच्च स्तरमा भइरहेको बताएका छन्।

प्रकाशित: Sep 16, 2026| 09:09 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्