मंगलबार, भदौ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो पाँच वर्षे फिनटेक रणनीति खाका

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो पाँच वर्षे फिनटेक रणनीति खाका

 |  मंगलबार, भदौ ३०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०८३

काठमाडौं। नेपाल राष्ट्र बैंकले पाँच वर्षे फिनटेक रणनीति खाका सार्वजनिक गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले देशको डिजिटल वित्तीय प्रणालीलाई आधुनिक, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित डिजिटल वित्तीय सेवाका लागि फिनटेक रणनीतिको खाका सार्वजनिक गरेको हो। 

वित्तीय समावेशीकरण, वित्तीय पहुँचको विस्तार र दिगो आर्थिक विकासलाई टेवा पुर्‍याउने दीर्घकालीन लक्ष्यसहित केन्द्रीय बैंकले आगामी ५ वर्षका लागि यो रणनीति अघि सारेको राष्ट्र बैंकले जनाएको छ।

नीतिगत सुधार, प्रभावकारी नियमन, भरपर्दो डिजिटल पूर्वाधार र सरोकारवालाहरूबिचको सहकार्यमार्फत उत्तरदायी फिनटेक प्रविधि र डिजिटल वित्तीय सेवाको विकास गर्ने यस रणनीतिको मुख्य उद्देश्य रहेको छ।

उक्त रणनीतिमा नीतिगत सुधारमार्फत डिजिटल वित्तीय सेवाको पहुँच र विस्तार बढाउने, वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने, वित्तीय सेवाका विकल्पहरूको दायरा फराकिलो बनाउने, वित्तीय स्थायित्वमा आउन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्ने र नवप्रवर्तनको प्रयोग गरी वित्तीय सेवाको लागत घटाउने रहेको राष्ट्र बैंकले जनाएको छ। 

रणनीतिक उद्देश्य हासिल गर्न राष्ट्र बैंकले यस रणनीतिलाई मुख्य ३ स्तम्भमा वर्गीकरण गरेको छ। जसमा डिजिटल पूर्वाधारको आधुनिकीकरण गर्ने तथा नियमन र सुपरीवेक्षणका लागि आधुनिक प्रविधिको विकास गर्ने, फिनटेक–मैत्री नीतिगत तथा कानुनी ढाँचा तयार गर्ने, सम्पूर्ण फिनटेक कम्पनीहरूबिच समान अवसर सुनिश्चित गर्ने र साइबर सुरक्षासहितका भरपर्दो प्रणालीमार्फत सुरक्षित सेवा प्रवाह गर्ने रहेको छ।

यो रणनीतिले नयाँ तथा सञ्चालनमा रहेका फिनटेक कम्पनीहरू, अनुमतिप्राप्त वित्तीय संस्थाहरू र सम्पूर्ण डिजिटल सेवा प्रयोगकर्ताहरूलाई समेटेको छ। विशेष गरी, साना तथा मझौला उद्योग, ग्रामीण क्षेत्रका बासिन्दा, महिला, युवा, बालबालिका तथा गिग अर्थतन्त्रमा जोडिएका श्रमिकरव्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखिएको छ। यो ५ वर्षे रणनीति कार्यान्वयनपछि नेपालमा सुरक्षित, भरपर्दो, समावेशी, नवप्रवर्तनकारी तथा अन्तर–आबद्ध डिजिटल वित्तीय प्रणाली निर्माण हुने राष्ट्र बैंकको विश्वास छ।

प्रकाशित: Sep 15, 2026| 17:09 मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्