मंगलबार, भदौ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • असोज १ गतेदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन हुने

असोज १ गतेदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन हुने

 |  मंगलबार, भदौ ३०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०८३

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खण्डमा असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ।

भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालन हुँदै आएको सडकमा आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपछि दुईतर्फी यातायात सञ्चालन गर्न लागिएको हो।

भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्‍याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल भत्काएपछि उक्त सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो। अध्ययनपछि कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ सडक मार्ग निर्माण गर्न सुझाव दिइएको थियो।

सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान गरी ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर नयाँ सडक मार्ग निर्माण गरिएको हो। प्राविधिकसहित ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेपछि काम सुरु भएको दसौँ दिनमै भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारी साधन परीक्षणका रूपमा सञ्चालन गरिएको थियो।

हाल सडकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने र सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ। ग्राभेलको काम भोलिसम्म पूरा गर्ने र असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

प्रकाशित: Sep 15, 2026| 16:24 मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्