मंगलबार, भदौ ३०, २०८३

घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि

 |  मंगलबार, भदौ ३०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०८३

काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नेपालमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कारोबार संख्या १२.२५ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार २२.८८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।

चौथो त्रैमासमा घरजग्गाको कुल कारोबार रकम २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ थियो। आर्थिक वर्ष २०८२/८३ को समग्र अवधिमा भने कुल कारोबार रकम ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त राजस्व ४८.२६ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ। त्यस्तै घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ६.९३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

प्रदेशगत रूपमा बागमतीमा घरजग्गा कारोबार सबैभन्दा तीव्र रूपमा बढेको छ। चौथो त्रैमासमा बागमतीमा राजीनामा कारोबार संख्या ६९.३८ प्रतिशत र कारोबार भएको क्षेत्रफल ५०.२४ प्रतिशतले बढेको छ। कारोबार रकम भने बागमतीमा १७५.३३ प्रतिशतले बढेको छ। मधेशमा भने कारोबार संख्या ३.४४ प्रतिशत र क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ।

महानगरपालिकातर्फ काठमाडौँमा घरजग्गा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ। ललितपुरमा १३६.९२ प्रतिशत र पोखरामा १०८.७१ प्रतिशत वृद्धि भएको छ।  उपमहानगरपालिकातर्फ हेटौँडामा कुल कारोबार रकम १८६.८० प्रतिशतले बढेको छ। समग्र तथ्यांकले पछिल्लो अवधिमा घरजग्गा बजारमा कारोबार, रकम र सरकारी राजस्व तीनै क्षेत्रमा उल्लेख्य वृद्धि भएको देखाएको छ।

प्रकाशित: Sep 15, 2026| 13:57 मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्