सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भोटेकोसी बाढी प्रभावित क्षेत्रमा स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा 

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा 

 |  सोमबार, भदौ २९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०८३

काठमाडौं। गत भदौ १० मा भोटेकोसी नदीमा आएको बाढीले पूर्वाधार क्षेत्रमा ठुलो क्षति पु¥याएपछि प्रभावित क्षेत्रमा सेवाप्रदायकहरुले स्याटलाइट स्याटेलाइट (भू–उपग्रह प्रविधि) मार्फत इन्टरनेट सेवा उपलब्ध गराएका छन्। बाढीले सडक, फाइबर र दूरसञ्चारलगायत पूर्वाधारमा क्षति पुर्‍याएको थियो। 

बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा प्रभावित गरेपछि अहिले सेवा प्रदायकले स्याटेलाइटमार्फत इन्टरनेट सेवा उपलब्ध गराउँदै आइरहेका छन्। एनसेल र डिसहोमले ‘लो अर्थ अर्बिट’ (एलईओ) स्याटेलाइट प्रविधिमार्फत प्रभावित क्षेत्रमा वैकल्पिक इन्टरनेट सेवा सञ्चालनमा ल्याएका हुन्। 

नेपाल दूरसञ्चार प्राधिकरणकै अनुमति तथा समन्वयमा यस्तो प्रविधि इनेबल भएको हो। एनसेलले खोज, उद्धार, राहत र पुनः स्थापनामा खटिएका निकायका लागि नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा स्याटेलाइट इन्टरनेट जडान गरिसकेको जनाएको छ। 

बाढी प्रभावित अन्य स्थानमा पनि आवश्यकता पहिचान गरी सेवा विस्तार भइरहेको कम्पनीले जनाएको छ। एनसेलका अनुसार बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिविर र आपत्कालीन कार्य भइरहेका स्थानमा सेवा उपलब्ध गराइनेछ। हालको अवस्थामा यो सेवा निःशुल्क हुनेछ।

डिसहोमले भने रसुवाका बाढीबाट बढी प्रभावित क्षेत्रमा भदौ २० गतेदेखि प्राथमिकताका आधारमा निःशुल्क वनवेब स्याटलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाएको छ। 

सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्त्वपूर्ण समन्वय केन्द्रलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। स्याटेलाइट इन्टरनेटमा जमिनमा जडान गरिएको उपकरणले स्याटेलाइटबाट इन्टरनेट सिग्नल लिएर आसपासका क्षेत्रमा वाई फाइमार्फत सेवा दिन्छ। 

सामान्य मोबाइल वा फाइबर इन्टरनेट सेवा अवरुद्ध भएको अवस्थामा पनि इन्टरनेट सेवा निरन्तर हुनसक्छ। यसबाट उद्धारकर्मी, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा राहतमा खटिएका अन्य निकायबिच सूचना आदानप्रदान, इन्टरनेटमार्फत फोन तथा अन्य सञ्चार र राहत कार्यको समन्वय गर्न सहज हुने कम्पनीहरूले बताएका छन्।

एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले सडक र सञ्चार पूर्वाधार प्रभावित भएका नुवाकोटका तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरिएको बताए। उनका अनुसार यसले उद्धार तथा राहत कार्यमा सहयोग पुग्नुका साथै प्रभावित स्थानीयवासीलाई सम्पर्कमा रहन मद्दत गर्नेछ।

एनसेलले बाढी प्रभावित क्षेत्रका तीन लाखभन्दा बढी ग्राहकलाई बाढी आएको पहिलो दिनदेखि दैनिक निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत तथा पुनः स्थापनाका लागि एक करोड रुपैयाँ सहयोग गरेको पनि जनाएको छ। 

बिकट ठाउँमा स्याटलाइट प्रविधिबाट सञ्चार सम्भव भइरहेको छ।बाढी लगत्तै विदेशीकै सहायतामा अनौपचारिक रूपमै स्टारलिंक पनि सञ्चालन भएको छ। स्टारलिंकले औपचारिक रूपमा सेवा दिन इच्छुक रहेको घोषणा गरे पनि सरकारले अनुमति दिएको थिएन। चिनियाँ नाकासँग जोडिएको र चीनको आपत्ति हुने डरले सरकारले अनुमति नदिए पनि स्टारलिंकको सेवा प्रविधि प्रयोगमा आएको छ।

प्रकाशित: Sep 14, 2026| 17:15 सोमबार, भदौ २९, २०८३
प्रतिक्रिया दिनुहोस्