काठमाडौं। इन्डोनेसियाको जाभा सागरमा खराब मौसमका कारण सम्पर्कविहीन भएको यात्रुवाहक फेरी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ९७ जनाको उद्धार गरिएको छ।
इन्डोनेसियाको उद्धार तथा खोजी निकायका अनुसार २४३ जना सवार ‘भिर्गो ट्रान्सपोर्ट ८’ फेरी सुराबायाबाट बन्जारमासिनतर्फ जाँदै गर्दा आइतबार बिहान सम्पर्कविहीन भएको थियो।
बाँकी यात्रुको खोजी जारी रहेको र उद्धारका लागि नौसेना, समुद्री प्रहरी तथा अन्य निकायको संयुक्त टोली परिचालन गरिएको बताइएको छ। घटनास्थलमा विभिन्न जहाज र हेलिकोप्टर पठाइएको छ भने जाभा सागरमा रहेका अन्य जहाजलाई समेत यात्रु फेला परे जानकारी दिन आग्रह गरिएको छ। उद्धार निकायले जहाजको अन्तिम अवस्थिति एउटा घाटबाट करिब १४८ किलोमिटर टाढा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ।
करिब १७ हजार द्वीप रहेको इन्डोनेसियामा एक द्वीपबाट अर्को द्वीपमा आवतजावतका लागि पानीजहाजमा ठूलो निर्भरता छ। तर सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन नहुँदा त्यहाँ पानीजहाज दुर्घटनाको जोखिम उच्च रहने गरेको छ।