आइतबार, भदौ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निर्माण सामग्री र ढुवानी भाडा महंगीदा लागतमा वृद्धि, कति प्रतिशतले बढ्यो?

निर्माण सामग्री र ढुवानी भाडा महंगीदा लागतमा वृद्धि, कति प्रतिशतले बढ्यो?

 |  आइतबार, भदौ २८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २८, २०८३

काठमाडौं- अन्तराष्ट्रिय बजारमा निर्माण सामाग्रीको मूल्य बढेसँगै ढुवानी भाडा महँगिदा नेपालमा निर्माण लागत ह्वातै बढेको छ। इँटा र बिजु्ली तारको मूल्यमा भएको तीव्र वृद्धिका कारण निर्माण सामाग्रीको भाउ आकासिएको हो। गत आर्थिक वर्ष २०८२/०८३ को अन्तिम त्रैमासमा इँटा र तारको मूल्यमा भएको तीव्र वृद्धिका कारण नेपालमा निर्माण लागत मूल्य बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा तामाको तारको भाउ बढ्नु, नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर हुनु र तेलको उच्च मूल्यवृद्धिले ढुवानी भाडा महँगिदा विभिन्न निर्माण सामाग्रीको भाउ अकासिएको हो। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार निर्माण सामाग्रीहरूमध्ये विद्युतीय तारको मूल्य गत आवको चौथो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही त्रैमासको तुलनामा ३४.३६ प्रतिशतले बढेको थियो। 

निर्माण क्षेत्रको समग्र इनपुट मूल्य सूचकांकमा समावेश गरेको वस्तुमध्ये सबैभन्दा ठूलो मूल्यवृद्धि विद्युतीय तारमै देखिएको हो। त्यस्तै, इँटाको भाउ पनि सोही अवधिमा १७.९४ प्रतिशतले बढ्यो। जुन मूल्य सूचकांकमा समावेश निर्माण सामग्रीहरुमध्ये दोस्रो ठूलो मूल्यवृद्धि बेहोर्ने वस्तु हो। तथ्यांक कार्यालयले सार्वजनिक गरेको निर्माण क्षेत्रको समग्र इनपुट मूल्य सूचकांकअनुसार गत आर्थिक वर्षको चौथो त्रैमासमा निर्माण क्षेत्रको समग्र इनपुट मूल्य सूचकांक अघिल्लो आर्थिक वर्षको सोही त्रैमासको तुलनामा ३.८६ प्रतिशतले वृद्धि भयो। जुन ५ वर्षयताको चौथो त्रैमासमा भएको सबैभन्दा ठूलो वृद्धि हो। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा अघिल्लो त्रैमासिकको १५७.६ को तुलनामा १.७८ प्रतिशतले बढेर १६०.४ पुगेको छ। जुन वर्षकै सबभन्दा धेरै त्रैमासिक वृद्धि भएको पनि तथ्यांक कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा अन्य विभिन्न निर्माण सामाग्रीहरू जस्तै बिटुमिन, जिआई पाइप, पोलिथिन पाइप, माटो, बालुवाको भाउ पनि अघिल्लो आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बढेको छ। तर, ह्युम पाइप, गाबियन वायर, फलामको रड र बिलेट तथा काठको भाउ भने घटेको तथ्यांक कार्यालयले जनाएको छ। तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले अमेरिका र इरानबीच गत फागुन १६ गतेबाट युद्ध शुरू भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र त्यसको प्रभाव धेरै निर्माण सामग्रीको मूल्यमा परेको छ। ‘इँटा, बालुवा, गिट्टी तथा फलामजस्ता वस्तुहरू भारी र ढुवानीमा बढी निर्भर हुने भएकाले इन्धनको मूल्य वृद्धिले तिनको ढुवानीसहितको मूल्यमा प्रत्यक्ष प्रभाव पार्छ,’ तथ्यांक कार्यालयले भनेको छ, ‘यो नेपाल राष्ट्र बैंकको आफ्नै अवलोकनसँग पनि मेल खान्छ, गत वैशाखमा भएको मूल्य वृद्धिमा यातायात लागत बढ्नुलाई प्रमुख कारण बताइएको छ।’ युद्ध शुरू भएपछि खासमा पाइप तथा बिटुमिनहरू नपाइएको र समग्र निर्माण सामग्रीको मूल्य वृद्धि भएको तर बढेको मूल्य समायोजन नभएको भन्दै निर्माण व्यवसायीले निर्माणको काम नै रोकेका थिए। मुख्य निर्माण कार्य हुने सिजनमै निर्माण कार्य नभएपछि त्यसले सरकारको पूँजीगत खर्चमा निकै असर गरेको थियो। 

बढेको तेलको मूल्यसँगै नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बन्यो। ‘सिमेन्ट क्लिंकर, स्टिल बिलेट, फिटिङ्स तथा तामाजस्ता वस्तुहरू ठूलो मात्रामा आयात हुने वा आयातमा निर्भर भएकाले विश्व बजारमा डलर मूल्य स्थिर रहे पनि कमजोर रुपैयाँका कारण नेपालमा ती वस्तुको आयातित लागत बढ्छ,’ तथ्यांक कार्यालयले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘यही कारण जिआई पाइप, पोलिथिन पाइप तथा विद्युतीय सामग्रीलगायत वस्तुको मूल्यमा देखिएको व्यापक वृद्धिमा यसको पनि योगदान रहेको हुन सक्छ।’ तर, तामाको तारको मूल्य भने युद्ध शुरू हुनुभन्दा धेरै अघिदेखि बढिरहेको थियो। तथ्यांक कार्यालयका अनुसार सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिभर आपूर्ति अभावमा विश्व बजारमा तामाको मूल्य बढ्दै गएको र डाटा सेन्टर, विद्युत् ग्रिडको आधुनिकीकरण र विद्युतीय सवारीसाधनको विस्तारका कारण बढ्दो मागले गर्दा यसको मूल्य रेकर्ड वा रेकर्डनजिक पुगेको थियो। साथै अमेरिकाले लगाएको करका कारण तामाको भौतिक मौज्दात बढाउने क्रम तीव्र हुँदा अन्य बजारबाट भौतिक तामा बाहिरिन पुगेको थियो। तामा विद्युतीय तार उत्पादनको प्रमुख कच्चा पदार्थ भएकाले विश्वव्यापी तामा आपूर्तिमा देखिएको यो संकटले नेपालमा विद्युतीय तारको मूल्य बढाउन योगदान गरेको तथ्यांक कार्यालयको विश्लेषण छ। ‘नेपालले अधिकांश तामाको तार आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा नेपाल मूल्य निर्धारक नभई मूल्य स्वीकारकर्ताको भूमिकामा रहेको छ,’ तथ्यांक कार्यालयले भनेको छ। 

तथ्यांक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८३/८४ मा प्रवेश गर्दा दुईओटा बाह्य जोखिमलाई विशेष रूपमा निगरानी गर्नुपर्ने आवश्यकता रहेको छ। पहिलो, अन्तर्राष्ट्रिय बजारमा तामाको मूल्य उच्च रहिरहेमा विद्युतीय तार तथा तारमा निर्भर निर्माण कार्यको लागतमा निरन्तर दबाब पर्न सक्छ। दोस्रो, नेपाली रुपैयाँ थप अवमूल्यन हुने वा इन्धनको मूल्य बढ्ने हो भने आयातित सिमेन्टका कच्चा पदार्थ, स्टिल बिलेट तथा फिटिङ्सको नेपालमा आइपुग्दाको लागत बढ्ने छ। घरेलु बजारतर्फ भने मनसुनपछि निर्माण गतिविधि तीव्र रूपमा पुनः शुरू हुँदा इँटा र गिट्टीको मूल्य सामान्यतः फेरि बढ्ने गर्छ। विश्व बजारमा कच्चा पदार्थको लागत नियन्त्रणमै रहेमा गत आर्थिक वर्षको चौथो त्रैमासमा मूल्य केही सहज भएका सिमेन्ट र स्टिल भने थप मूल्य वृद्धिलाई केही हदसम्म सन्तुलनमा राख्न सक्ने सम्भावना रहेको तथ्यांक कार्यालयको भनाइ छ।

प्रकाशित: Sep 13, 2026| 15:21 आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्