धनगढी । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य कृष्णा सिराडीले तीज पर्वलाई महँगो, भड्किलो र देखावटी नभई मौलिक संस्कृति तथा परम्पराअनुसार मनाउन आग्रह गरेकी छन्।
धनगढीस्थित वैशेषिक पाठशालामा आयोजित तीज नृत्य प्रतियोगितालाई सम्बोधन गर्दै प्राज्ञ सिराडीले पछिल्लो समय तीजमा बढ्दै गएको देखासिकी, तडकभडक र खर्चिलो प्रवृत्तिले पर्वको वास्तविक मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरिन्। तीज हुनेखाने वर्गको मात्रै पर्व हो कि भन्ने भान पर्न थालेको भन्दै उनले यस्तो प्रवृत्ति सच्याउनुपर्ने बताइन्।
"हामीले कसैको देखासिकी गर्ने होइन, आफ्नो संस्कार र संस्कृतिअनुसार अघि बढ्नुपर्छ," उनले भनिन्, "तीजलाई देखावटीभन्दा पनि हाम्रो मौलिक परम्परा र संस्कृतिअनुसार मनाउनुपर्छ।"
देश यतिबेला शोकको परिस्थितिमा रहेकाले यसपटकको तीजलाई सामान्य र संयमित रूपमा मनाउन पनि उनले अपिल गरिन्। तीजका नाममा अनावश्यक खर्च र भड्किला गतिविधि नगरी पर्वको सांस्कृतिक एवं आध्यात्मिक पक्षलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी सिराडीले तीज नृत्य प्रतियोगितामा किशोरीहरूलाई मौलिक पहिरनमा सहभागी गराएको भन्दै आयोजक वैशेषिक पाठशाला र अभिभावकहरूलाई धन्यवाद दिइन्। "छोरीहरूलाई मौलिक पहिरनमा सजाएर ल्याउनुभएकोमा अभिभावकहरू धन्यवादका पात्र हुनुहुन्छ। वैशेषिक पाठशालाले पनि संस्कृति संरक्षणको उद्देश्य राखेर प्रशंसनीय काम गरेको छ," उनले भनिन्।
तीजको सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा अभिभावकहरू पनि संस्कृति संरक्षणप्रति सचेत देखिएको उनले उल्लेख गरिन्। सिराडीले आगामी दिनमा पनि विद्यालय तथा विभिन्न संघ-संस्थाहरूले हाम्रा मौलिक पहिरन, परम्परा र संस्कृति जोगाउने किसिमका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।