बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बाढी प्रभावित क्षेत्रको अवलोकनमा देउवा, सरकारलाई पुनर्स्थापनामा तदारुकता देखाउन आग्रह

बाढी प्रभावित क्षेत्रको अवलोकनमा देउवा, सरकारलाई पुनर्स्थापनामा तदारुकता देखाउन आग्रह

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले रसुवा र भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट क्षेत्रको बिहीबार अवलोकन गरेका छन्।

बिहीबार देउवासँगै कांग्रेस नेता डा. शशांक कोइराला, डा.प्रकाशशरण महत, प्रकाशमान सिंह, मोहनबहादुर बस्नेतलगायत नेता तथा कार्यकर्ताहरू बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न पुगेका थिए।

अवलोकनका क्रममा देउवाले बाढीपहिरोबाट प्रभावित स्थानीयसँग भेट गर्दै उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका थिए। उनले प्रभावित क्षेत्रमा अझै पनि पर्याप्त सुविधा पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

देउवाले प्रभावित क्षेत्रमा सडक तथा यातायातको पहुँच नहुँदा स्थानीयले थप समस्या भोग्नुपरेको बताए। उनले रसुवा, नुवाकोट र धादिङमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै प्रभावित नागरिकलाई तत्काल राहत, पुनस्र्थापना र त्यसपछि पुनर्निर्माणको काम अघि बढाउनुपर्ने बताए।

उनले भने, ‘अहिले यहाँ गर्नुपर्ने कुरा के छ भने, रेस्क्यु, रिलिफ र रिह्याबिलिटेसन, रिकन्स्ट्रक्सनका चारवटा कुरा छन्। बाँचेका मान्छेहरू आएका छन्, देख्नुभएकै छ। धेरै मान्छेहरूको मृत्यु भएको छ। रिलिफको सम्बन्धमा जो अझै पनि राम्रोसँग खान पाएको छैन, बस्न पाएको छैन।’

उनले प्रभावितहरूलाई खाने, बस्ने र न्यायोचित सुविधा उपलब्ध गराउनु सरकारको जिम्मेवारी भएको बताए। साथै, विस्थापितहरूलाई भोलि कहाँ राख्ने भन्ने विषयमा समेत सरकारले योजना बनाएर पुनस्र्थापनाको काम अघि बढाउनुपर्ने उनको भनाइ छ।

बाढीपहिरोले तीन जिल्लामा मात्रै नभई अन्य क्षेत्रमा समेत प्रभाव पारेको भन्दै देउवाले इन्धनदेखि दैनिक उपभोग्य वस्तुसम्मको आपूर्तिमा समस्या देखिएको बताए। उनले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।

देउवाले जलवायु परिवर्तनका कारण नेपाल बाढीपहिरोजस्ता विपद्को उच्च जोखिममा रहेको पनि बताए। हिमालमा हिउँ घट्दै गएको र जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङका कारण आगामी दिनमा नेपालले थप चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ।

उनले सरकारबाट प्रभावित क्षेत्रमा भइरहेको कामबारे बुझ्न आफूहरू आएको भन्दै आवश्यक काम नभए कांग्रेसले सरकारलाई दबाब दिने बताए।

‘सरकारले के गरेको छ, के गरेको छैन भन्ने कुरा बुझ्न आएको हौँ। हामी आवाज उठाउँछौँ, बाहिर भन्छौँ, प्रेसमा उठाउँछौँ। सबै ठाउँमा आवाज उठाउनेछौँ,’ उनले भने।

त्यस्तै कांग्रेस नेता डा.प्रकाशशरण महतले बाढीपहिरो प्रभावित क्षेत्रको पुनस्र्थापना र पुनर्निर्माणमा राज्य नै सक्रिय भएर काम गर्नुपर्ने बताए।

उनले विपद्पछि तत्कालीन राहतसँगै अस्थायी आवास, दीर्घकालीन पुनस्र्थापना तथा पुल र सडकजस्ता भौतिक संरचनाको निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।

महतले भने, ‘राहतसँगसँगै यो पुनस्र्थापना, अहिले टेम्पोररी सेल्टरहरू र लङटर्म पुनस्र्थापना, पुल निर्माणको काम अत्यन्त महत्त्वपूर्ण भएको छ।’

उनले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकस्तरबाट ठूलो सहयोग भए पनि अबको पुनर्निर्माणको जिम्मेवारी राज्यले लिनुपर्ने बताए। विशेषगरी यातायातको पहुँचबाट टाढा रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर तत्काल अस्थायी संरचना तथा बेली ब्रिज निर्माण गर्न सरकारसँग माग गरे।

महतले प्रभावित क्षेत्रका नागरिकको आवागमन सहज बनाउन चाँडोभन्दा चाँडो अस्थायी संरचना निर्माण गर्नुपर्ने बताए। कांग्रेसले पनि प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा सरकारको ध्यानाकर्षण गराउने काम जारी राख्ने उनको भनाइ छ।

प्रकाशित: Sep 10, 2026| 19:00 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्