बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उद्योगमन्त्रीको अभिव्यक्तिप्रति एलपी ग्यास उद्योग संघको आपत्ति

उद्योगमन्त्रीको अभिव्यक्तिप्रति एलपी ग्यास उद्योग संघको आपत्ति

 |  बिहीबार, भदौ २५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०८३

काठमाडौं- एलपी ग्यास उद्योग संघले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

संघले प्राकृतिक विपत्तिको समयमा समेत उद्योगीहरूले आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन निरन्तर खटिरहेको जनाउदै यस्तो अवस्थामा मन्त्रीबाट ग्यास उद्योगीलाई लक्षित गरी गैरजिम्मेवार, अमर्यादित र अशोभनीय अभिव्यक्ति आउनु खेदजनक भएको बताएको हो।

उद्योगमन्त्री यादले बुधबार प्रतिनिधि सभाको उद्योग समितिको बैठकमा उद्योगीलाई दोष दिदै उनीहरुलाई पाता नकसेसम्म ग्यास सहज हुन नसक्ने बताएकी थिइन्।  

संघले वर्तमान ग्यास अभावको कारणबारे वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने बताउदै आधा सिलिन्डर अर्थात् ७.१ किलो ग्यास १५ दिनका लागि लागू गर्ने व्यवस्था चार महिनासम्म निरन्तर रहनु, पूर्ण सिलिन्डरमा फर्काउन संघले गत चैत १६ गते नेपाल आयल निगमलाई अनुरोध गर्दा पनि बेवास्ता हुनु, ग्यास आयातमा पर्याप्त तदारुकता नदेखिनु, पूर्ण सिलिन्डर लागू भएपछि माग अचानक बढ्नु तथा पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ग्यास ढुवानी प्रभावित हुनुलाई अभावका कारणका रूपमा हेर्नुपर्ने संघले जनाएको छ।

कुनै उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा कानुनअनुसार कारबाही गर्न संघले सहयोग गर्ने जनाएको छ। तर बिना प्रमाण उद्योगीलाई दोषी देखाउँदै भौतिक कारबाहीको संकेत गर्ने अभिव्यक्ति अत्यन्त आपत्तिजनक भएको संघको भनाइ छ।

कठिन परिस्थितिमा उपभोक्ताले अत्यावश्यक वस्तुका रूपमा रहेको ग्यास सहज रूपमा पाउनुपर्ने आफ्नो मुख्य उद्देश्य रहेको भन्दै संघले सम्बन्धित निकायसँग सहकार्य गर्न र सरकारका व्यवहारिक निर्देशन पालना गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित: Sep 10, 2026| 12:40 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्