काठमाडौं- भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मनकामना केबलकारका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।
केबलकारमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदान स्वरूप संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

कर्मचारीहरूको तर्फबाट संकलन भएको कुल ३ लाख ११ हजार २२२ (तीन लाख एघार हजार दुई सय बाईस रुपैयाँ) रकम एभरेस्ट बैंक लिमिटेडको नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ।
प्राकृतिक विपद्को यस कठिन समयमा बाढीपीडित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले स्वतःस्फूर्त रूपमा आफ्नो तलब कटौती गरी यो योगदान दिएका हुन्।
मनकामना केबलकारले विपद्को घडीमा प्रभावित नागरिकको सहयोगका लागि समाजका सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ। कर्मचारीहरूको यस सानो प्रयासले बाढीपीडितको राहत तथा पुनःस्थापना कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।