काठमाडौं- कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय संस्था ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’ (PCAF) मा आवद्ध भएको छ। बैंकले जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्याँस उत्सर्जनलाई बुझ्न र व्यवस्थापन गर्न थप पारदर्शिता दर्शाउँदै PCAF मा सदस्यता लिएको हो।
PCAF को सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्याँस उत्सर्जनको मापन र सार्वजनिक रूपमा प्रकाशन गर्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्नेछ। यो पहलले बैंकको जलवायु सम्बन्धी तथ्याङ्क, जोखिम व्यवस्थापन र दिगो वित्त सम्बन्धी अभ्यासलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ।
न्यून-कार्बन तथा जलवायु-उत्थानशील अर्थतन्त्रतर्फको रूपान्तरणलाई सहयोग गर्न वित्तीय क्षेत्रको भूमिका महत्वपूर्ण मानिन्छ। PCAF मा आवद्ध भएर कुमारी बैंकले आफ्नो लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गर्नेछ। साथै, यसबाट प्राप्त जानकारीलाई भविष्यको वित्तीय निर्णय, जोखिम व्यवस्थापन र दिगोपना सम्बन्धी पहलहरूमा उपयोग गर्ने लक्ष्य राखेको छ।
बैंकका सस्टेनेबल बैंकिङ विभाग प्रमुख अर्पण पौडेलका अनुसार, PCAF मा आवद्ध हुनु कुमारी बैंकको दिगोपना यात्राको एक महत्वपूर्ण कोशेढुङ्गा हो। उहाँले भन्नुभयो, “हाम्रा वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझ्नाले जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढ्न तथ्य र जानकारीमा आधारित परिपक्व निर्णय लिन टेवा पुग्नेछ।”
बैंकले दिगो वित्तका अवसरहरू विस्तार गर्ने, आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय एवं जलवायु सम्बन्धी पक्षलाई थप एकीकृत गर्ने र नेपालको दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतातर्फ योगदान पुर्याउन सरोकारवालाहरूसँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
बैंकको सञ्जाल र प्रतिबद्धता
देशभर व्यापक उपस्थिति रहेको कुमारी बैंकले लक्ष्यित समुदायमा दिगो वित्तीय पहललाई विस्तार र प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफ्नो स्थापित बैंकिङ सञ्जालको उपयोग गरिरहेको छ। हाल बैंकका ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ एकाइ र १,२३३ POS टर्मिनल्स सञ्चालनमा रहेका छन्। यसका साथै डिजिटल बैंकिङ प्लेटफर्म, मोबाइल बैंकिङ र अन्तर्राष्ट्रिय भिसा कार्ड (Visa Card) सेवाहरू पनि उपलब्ध छन्।