मंगलबार, भदौ २३, २०८३

हामी राज गर्न होइन, नागरिकको सेवा गर्न आएका हौँ : गृहमन्त्री गुरुङ

 |  मंगलबार, भदौ २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०८३

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकार सत्तामा राज गर्न नभई जनताको सेवा गर्न आएको बताएका छन्। मंगलबार साँझ पुरानो संसद् भवन परिसरमा जेनजी शहीदहरूको स्मृतिमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पुस्ताले सुरु गरेको सुशासन र परिवर्तनको यात्रा कुनै पनि षड्यन्त्रबाट नरोकिने दाबी गरेका हुन्। 

गृह मन्त्रालय र नेपाल सरकारको तर्फबाट आन्दोलनका शहीद, घाइते तथा सम्पूर्ण जेनजी योद्धाहरूलाई सलाम गर्दै गृहमन्त्री गुरुङले आफूहरू अधिकार माग्ने अवस्थाबाट अहिले अधिकार दिने ठाउँमा आइपुगेको बताए। 

उनले भने, ‘जहिले झुक्नुपथ्र्यो, आफ्नो अधिकारको लागि जहिले माग्नुपथ्र्यो, लड्नुपथ्र्यो। आज हामी आफैँ अधिकार माग्नेवालाबाट दिने ठाउँमा पुगेका छौँ। हामी आफ्नो अधिकार राम्रोसित माग्छौँ, नदिए खोस्न पनि सक्छौँ। प्रजातन्त्र र गणतन्त्र भाषणमा मात्र सीमित हुनुहुँदैन, त्यसलाई कार्यान्वयनमा उतार्न सक्नुपर्छ।’

विगतका शासकहरूले देशका युवाहरूलाई विदेश पठाएर रेमिट्यान्समा रमाउने थिति बसालेको टिप्पणी गर्दै उनले त्यो कुनै उपलब्धि नभएको बताए। युवाहरू पलायन हुँदै जाँदा देशलाई वृद्धाश्रम बनाउने अवस्था आएकाले आफूहरू गोली थापेरै आन्दोलनमा होमिनु परेको उनको भनाइ थियो। 

शहीदहरूको रगतमाथि राजनीति गर्ने र देश लुट्नेहरूलाई समयले कठघरामा पुर्‍याउने चेतावनी दिँदै गृहमन्त्री गुरुङले भने, ‘जस–जसले यो अपराध गरे, देशलाई लुटे, हाम्रो रगतमाथि राजनीति गरे, हाम्रा निमुखा भाइबहिनीहरूको छाती र टाउकोमा गोली हाने- उनीहरूलाई एउटा सन्देश छः हामी हेरिरहेका छौँ, पर्खिरहेका छौँ। अहिले आनन्दको निद्रा सुत्नु राम्रै हो, तर भोलिपल्ट त्यो निद्रा कुन कठघरा र कुन जेलमा पुगेर टुट्छ भन्ने उनीहरूले कल्पना पनि गरेका छैनन्।’

सरकारको मौनता वा संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै उनले अब राज्यको शक्ति जनताको हितमा मात्र प्रयोग हुने स्पष्ट पारे। 

उनले भने, ‘अब हेलिकप्टर हाम्रो हातमा छ, हेलिकप्टरले अब कसैलाई लिएर भाग्दैन। त्यो हेलिकप्टर उड्छ नै भने पनि नागरिकको सेवा र रेस्क्युका लागि दिनरात खटेर उड्छ। शक्तिको बलमा नागरिकमाथि दमन गर्ने दिन सकिए, शक्ति भनेको नागरिकको सेवा गर्नका लागि हो।’

बालेन्द्र शाह नेतृत्वको सरकार पाँच वर्षसम्म दृढताका साथ अगाडि बढ्ने र सुशासन स्थापित गरेरै छाड्ने उनले उद्घोष गरे।

सरकारलाई असफल बनाउन विभिन्न षड्यन्त्र भइरहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले यो सरकारका साथै जेनजी पुस्ता देश विकासको अन्तिम साससम्म लड्ने बताए। 

‘हामी हार्नेवाला पुस्ता होइनौँ। त्यो दिन आन्दोलनमा पनि हारेनौँ, चुनावपछि पनि हारेनौँ र भोलि पनि हार्नेवाला छैनौँ। जतिसुकै षड्यन्त्र रचिए पनि यो सरकार र यो पुस्ताको शिर झुक्नेवाला छैन। देश विकासको अन्तिम साससम्म हामी लड्छौँ,’ उनले भने। 

प्रकाशित: Sep 08, 2026| 20:43 मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्