काठमाडौं। सरकारले आन्तरिक ऋण उठाउने क्रममा १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।
अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भोलि (बुधबार) पाँच वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८८’ बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागेको हो।
सरकारले वार्षिक आन्तरिक ऋणको कार्यतालिकाअनुसार उक्त ऋणपत्र जारी गर्न लागेको जनाएको छ। कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै भदौ २४ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोलमार्फत ऋणपत्र बिक्री खुला गरिने जनाएको छ।
ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले तोकिएको समयभित्र बोलकबोल पेस गर्न सक्नेछन्। बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी (तरलता) पर्याप्त रहेको अवस्थामा सरकारले निष्कासन गर्न लागेको विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने अवसर पाउनेछन्।
यसबाट बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापनमा समेत केही सहयोग पुग्ने अपेक्षा गरिएको छ। ऋणपत्र खरिद गर्न इच्छुकले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको डीओएमएस प्रणालीमार्फत अनलाइन बोलकबोल पेस गर्न सक्नेछन्। खरिदको न्यूनतम सीमा ५ लाख रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा कुल निष्कासित रकमसम्म हुनेछ।
खरिद रकम ५ लाख रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा मात्र बोलकबोल गर्नुपर्नेछ। ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ।
यसको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ भने नियमानुसार आयकर लाग्ने कार्यालयले जनाएको छ। ऋणपत्रको निष्कासन मिति भदौ २५ गते बिहीबार तोकिएको छ। यसको साँवा भुक्तानी २०८८ भदौ २५ गते हुनेछ। ऋणपत्रलाई धितो राखेर कर्जा लिन वा दिन सकिनेछ भने नेप्से तथा डीओएमएस प्रणालीमार्फत दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।