काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले पार्टीका सबै जिम्मेवारी र सदस्यतासमेत त्याग्दै राप्रपाबाट पूर्णरूपमा अलग भएको घोषणा गरेका छन्।
पाठकले करिब चार वर्षअघि राप्रपालाई समयानुकूल पुनर्संरचना गर्दै सुशासनप्रति प्रतिबद्ध र सबै वर्ग तथा समुदायको भरोसायोग्य दल बनाउने सहमतिका आधारमा आफू पार्टीमा आबद्ध भएको बताउदै उक्त सहमतिअनुसार ठोस र परिणाममुखी काम हुन नसकेको उल्लेख गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन्।
उनले पार्टीको विचार र व्यवहारबीच ठूलो विरोधाभास रहेको तथा केन्द्रीय नेतृत्वमा लामो समयदेखिको आन्तरिक बेमेल र गुटगत स्वार्थको संघर्ष झन् बढ्दै गएको बताएका छन्। उनले यस्तो अवस्थाले नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीतर्फ आकर्षित गर्न कठिन हुने उल्लेख गरेका छन्।
पाठकले राप्रपाका तल्लो तहमा रहेका धेरै नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता प्रेरणादायी रहेको भन्दै उनीहरूप्रति सम्मान व्यक्त गर्दै आफूलाई सहयोग, शुभेच्छा र आलोचनात्मक सुझाव दिने सबैप्रति आभारसमेत व्यक्त गरेका छन्।
एक दशकको सक्रिय राजनीतिक यात्रा र त्यसअघि सञ्चारकर्मबाट हासिल गरेको अनुभवलाई आगामी दिनमा राष्ट्र, राष्ट्रियता, सुशासन र नागरिक हितमा थप प्रतिबद्धताका साथ प्रयोग गर्ने पाठकले बताएका छन्।