आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन : रमेश लेखक

महाधिवेशन रोकिएन भने कांग्रेसको विभाजन कसैले रोक्न सक्दैन : रमेश लेखक

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

कञ्चनपुर। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्।

कञ्चनपुरको दोधारा–चाँदनीमा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता जोगाउन आफूहरू अझै अधिकतम लचकताका साथ अघि बढिरहेको बताएका थिए।

लेखकले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका कार्यसमितिलाई समेटेर विवाद समाधान गर्नुपर्ने बताएका थिए। सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै उनले १४औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव अघि सारेको बताए।

निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न र आफ्नो बहुमत कायम गर्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव आफूहरूले गरेको लेखकले बताएका थिए। 'हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,' उनले भने।

पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै लेखकले अझै समाधानको सम्भावना रहेको बताएका थिए। उनले महाधिवेशन प्रक्रिया रोक्दै अदालतको फैसला कुर्नुपर्ने बताए। आधिकारिकतासम्बन्धी मुख्य मुद्दा विचाराधीन रहेकाले एउटा फैसला आफ्नो पक्षमा आएको भन्दै त्यसलाई सम्पूर्ण विवादको समाधान मान्न नहुने उनको भनाइ थियो।

लेखकले महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजन हुने चेतावनी दिँदै त्यसको जिम्मेवारी महाधिवेशन अघि बढाउने पक्षले लिनुपर्ने बताएका थिए। कांग्रेसलाई विभाजनबाट जोगाउने अन्तिम उपायका रूपमा आफूले महाधिवेशन रोक्न आग्रह गरिरहेको उनले बताएका थिए।

प्रकाशित: Sep 06, 2026| 17:16 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्