काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित आमाबाबुहरुलाई सम्बोधन गर्दै सरकार उनीहरूको साथमा रहेको बताउँदै आफूहरूमाथि भरोसा राख्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–१०, बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धारले खोज तथा उद्धार कार्य अझै जारी रहेको आशा जगाएको बताएका छन्। यसअघि पनि प्रभावित क्षेत्रबाट ज्येष्ठ नागरिकसहित धेरै नागरिकको उद्धार गरिएको उनले उल्लेख गरेका छन्।
उनले बाढीका कारण घर, खेतबारी, पशुचौपाया तथा परिवारका सदस्य गुमाएका ज्येष्ठ नागरिकले भोगिरहेको पीडा आफूहरूले महसुस गरेको बताएका छन्। सरकारले अस्थायी शिविर तथा आश्रयस्थलमा राहत, स्वास्थ्य सेवा र आवश्यक सुविधा उपलब्ध गराइरहेको जानकारी दिँदै मानसिक तथा शारीरिक पीडा कम गर्न स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्शसमेत दिइरहेको बताएका छन्।
देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जनालाई काठमाडौंको म्हैपीस्थित ज्येष्ठ नागरिक हेरचाह केन्द्र र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अस्थायी आश्रय दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। उनीहरूका लागि ह्वीलचियर र हिँडडुलमा सहयोग गर्ने साधनसमेत उपलब्ध गराइएको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर सुरक्षित बसोबासको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्दै ज्येष्ठ नागरिकलाई आफूलाई एक्लो नठान्न आग्रह गरेका छन्। उनले ज्येष्ठ नागरिकलाई देशका आधार र मार्गदर्शकका रूपमा उल्लेख गर्दै कठिन समयमा पनि उनीहरूको अनुभव र सल्लाह आवश्यक रहेको बताएका छन्।
बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले आफन्त गुमाएका नागरिकको आक्रोशलाई पीडाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने बताएका छन्। पीडितमाथि अनावश्यक टिप्पणी गर्ने वा थप पीडा दिनेहरूमाथि सरकार कठोर हुने चेतावनी दिँदै उनले उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति सम्मान र कृतज्ञता व्यक्त गरेका छन्।
अन्त्यमा प्रधानमन्त्री शाहले ज्येष्ठ नागरिकलाई 'हामीमाथि भरोसा राख्नुहोस्' भन्दै कठिन अवस्थामा सरकार उनीहरूको साथमा रहेको बताएका छन्।