काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली क्षेत्रमा रहेका टनेलभित्र अझै नागरिक अलपत्र रहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सातवटा टनेलमध्ये दुईवटामा मात्रै उद्धार भएको र बाँकी पाँचवटा टनेलमा उद्धार हुन बाँकी रहेको दाबी गरे।
उनले भने, ‘त्रिशूलीमा अहिले पनि मान्छे अलपत्र छन् टनेलभित्र। सेना भर्खरै उद्धार गरेको टनेल अपर त्रिशूली र लाङटाङ मात्र हो सात वटामा। सामाजिक सञ्जालमा सबै गरिसकेको भन्ने जुन हल्ला फैलाइएको जम्मा दुई वटा मात्र हो, पाँच वटा बाँकी छ।’
टनेलको मुख बन्द नभएको दाबी गर्दै उनले जुम्लाका लालवीर बुढा, रमेश बुढा, रामचन्द्र बुढालगायत ६ जना व्यक्ति टनेलभित्र करिब २०० मिटरबाट जीवितै बाहिर आएको बताए।
उनले भने, ‘यो भाषण हैन, सरकारको कर्तव्य हो। जसरी पनि त्यो टनेलमा गइदिनुस्, म अपिल गर्न चाहान्छु।’
यस्तै, हिलो तथा भग्नावशेष हटाउने मेसिन नभएको भन्ने प्रधानमन्त्रीको भनाइप्रति प्रश्न उठाउँदै उनले आवश्यक मेसिनको खोजी गरी तत्काल उद्धारमा प्रयोग गर्न आग्रह गरे।
उनले भने, ‘हिलो खन्ने मेसिन छैन भन्नुहुन्छ देशको प्रधानमन्त्रीले, हामीले वैज्ञानिक मन्त्री पनि बनाएका छौँ। मेसिन छ कि छैन पत्ता लगाइदिनुस्।’
नागरिकको उद्धारका लागि सरकारसँग आग्रह गर्नु सरकारको विरोध नभएको भन्दै शाहीले उद्धारको मागलाई अपराध मानिए पनि आफू देश र जनताका लागि हजारौँ पटक यस्तो अपराध गर्न तयार रहेको बताए।
सांसदहरूसँग सेना परिचालन, बजेट तथा राज्यका स्रोत–साधन परिचालन गर्ने अधिकार नभएको भन्दै उनले उद्धारका लागि सरकार नै सक्रिय हुनुपर्ने बताए।
उनले भने, ‘हामीसँग सेना परिचालन गर्ने अधिकार छैन। हामी सांसद हौँ, वडा अध्यक्ष बराबर पनि बजेट बनाउने अधिकार छैन। हामीसँग बजेट परिचालन गर्ने अधिकार छैन। राज्यको स्रोत–साधन परिचालन गर्ने अधिकार छैन। यो अधिकार यही संसदभित्रका मन्त्रीहरूसँग छ, त्यही भएर सरकारलाई उद्धार गरिदिनुस् भनेको हो।’