काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट भएको क्षति, सरकारको उद्धार तथा राहत प्रयास र विदेशी नागरिकको अवस्थाबारे नेपालस्थित कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूलाई ब्रिफिङ गरेका छन्।
बिहीबार आयोजित ब्रिफिङमा मन्त्री खनालले गत भदौ १० गते रसुवागढीस्थित नेपाल–चीन सीमामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई पछिल्लो समयको स्मृतिमा नभएको ठूलो विपत्तिका रूपमा चित्रण गरे। उनले बाढीले केही मिनेटमै ठूलो मात्रामा पानी, लेदो र ढुंगामाटो बगाएर रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा गम्भीर क्षति पुर्याएको बताए।
मन्त्री खनालका अनुसार हालसम्म १२०४ जनाको शव फेला परेको छ भने करिब ४२०० जना अझै बेपत्ता छन्। बाढीबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्। ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको उनले जानकारी दिए। उद्धार तथा पहिचानको काम जारी रहेकाले यी तथ्यांक प्रमाणीकरण भइरहेको उनले बताए।
सरकारले विपत्तिको पहिलो दिनदेखि नै उद्धार, खोजी, उपचार र राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरेको मन्त्री खनालले बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए।
विपत्तिको जटिलता र आवश्यक विशेषज्ञताका आधारमा भारत, चीन र दक्षिण कोरियाबाट विशेष सुरुङ उद्धार टोली ल्याइएको पनि उनले बताए। भारतको टोली लाङटाङ र चिलिमे, चीनको टोली माथिल्लो त्रिशूली–३ ए तथा दक्षिण कोरियाको टोली माथिल्लो त्रिशूली–१ मा उद्धार कार्यमा खटिएको उनले जानकारी दिए। इजरायलको टोलीले नदीको तल्लो क्षेत्रमा शव खोजी कार्यमा सहयोग गरिरहेको उनले बताए।
मन्त्री खनालले विदेशी नागरिकको खोजी, पहिचान र परिवारसँग समन्वयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको आकस्मिक नियन्त्रण कक्ष तथा विदेशस्थित नेपाली नियोगमार्फत बेपत्ता विदेशी नागरिकका परिवारलाई प्रमाणित सूचना उपलब्ध गराउने र आवश्यक परे स्वदेश फिर्ताको व्यवस्था मिलाउने काम भइरहेको उनले जानकारी दिए।
बाढीबाट घर, सडक, पुल, जलविद्युत् आयोजना लगायतका महत्वपूर्ण संरचनामा ठूलो क्षति पुगेको भन्दै मन्त्री खनालले विस्तृत क्षति मूल्यांकन भइरहेको बताए। पुनर्निर्माणका लागि आवश्यक स्रोत ठूलो हुने र त्यसका लागि अन्तर्राष्ट्रिय साझेदारसँग सहयोग मागिने उनले बताए।
नेपालले विपत्तिपछि भारत, चीन, दक्षिण कोरिया, जापान, अमेरिका लगायत विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ, विश्व बैंक र एसियाली विकास बैंकसहितका संस्थाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेको छ। मन्त्री खनालले उद्धार विशेषज्ञता, उपकरण, स्वास्थ्य तथा न्यायिक पहिचान सहयोग र आर्थिक सहायताले प्रभावित क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
उनले भोटेकोशी बाढीलाई जलवायु परिवर्तन र हिमाली क्षेत्रको बढ्दो जोखिमसँग जोड्दै जलवायु न्याय, प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् तयारी र जोखिमयुक्त संरचनाको पुनर्निर्माणलाई व्यवहारमै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
साथै मन्त्री खनालले भोटेकोशी बाढीको क्षति निश्चित क्षेत्रमै सीमित रहेको भन्दै नेपालका अन्य क्षेत्र सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश सम्बन्धित देशका नागरिक तथा सरकारसम्म पुर्याउन कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई आग्रह गरेका थिए।