काठमाडौं- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल जारी छ। छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले भोटेकोशी बाढीका कारण अझैं पनि विभिन्न स्थानमा मानिसहरू उद्धारको पर्खाइमा रहेको बताएका छन्।
खरेलले बाढी प्रभावित कतिपय मानिस टनेल, कुनाकाप्चा तथा खाल्डाखुल्डीमा थोरै पानी खाएर भए पनि उद्धारको आशामा बसिरहेको हुन सक्ने बताए। ‘अहिले पनि भोटेकोसी बाढीबाट कतै टनेलतिर, कतै कुनाकाप्चातिर र कतै खाल्डोतिर स्वदेशी वा विदेशी मानिसहरु थोरै पानी खाएर भए पनि उद्धारको पर्खाइमा बसिरहेका छन्,’ उनले भने, ‘कोही आउँछ र मेरो जीवन बचाउँछ भनेर पर्खिरहेका छन् कि भन्ने सोचले मेरो मन अधैर्य भइरहेको छ।’
दर्जनौँ मानिस अझंै जीवनको आशामा उद्धारको प्रतीक्षा गरिरहेको हुन सक्ने उनले बताए। बाढीका कारण ठूलो मानवीय क्षति भएको बताउँदै उनले एक हजारभन्दा बढी शव प्राप्त भएको बताए।
उनले भने, ‘हामी यो अवस्थामा छौँ। हजार भन्दा बढी शवहरू प्राप्त भएको छ। कयौँको पहिचान भएको छैन। ४ हजारको हाराहारीमा मानिस हराएका छन्। नेपाल सरकारको अगुवाइमा हामीले १२ हजार भन्दा बढीको उद्धार गर्न सकेका छौँ।’
उनका अनुसार करिब ४ हजार मानिस अझै हराइरहेका छन्। यद्यपि, नेपाल सरकारको अगुवाइमा १२ हजारभन्दा बढी मानिसको उद्धार गर्न सफल भएको उनले बताए। खरेलले विपद्का विषयमा नकारात्मक ‘न्यारेटिभ’ निर्माण नगर्न पनि आग्रह गरे। ‘केही भएको छैन भन्ने होइन, धेरै भइरहेको छ। रातदिन काम भइरहेको छ। तपाईं–हामी सबै लागिरहेका छौँ,’ उनले भने।
उनले अप्रत्याशित र अकल्पनीय रूपमा आएको बाढीको सामना सबै मिलेर गर्नुपर्नेमा जोड दिए। साथै, उद्धारका क्रममा विदेशी नागरिकलाई पनि नेपाली नागरिकसरह प्राथमिकतामा राखेर उद्धार गरिएको उनले बताए।