काठमाडौं– सरकारले प्रमाणीकरणका लागि पठाएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टिका ढकालका अनुसार अध्यादेश दर्ता भएको हो। मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। अध्यादेश राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइएको थियो। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अध्यादेश लागू हुन्छ।
दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत आवश्यक पर्ने कानुनी व्यवस्था छ। त्यसलाई संशोधन गर्दै केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यको सहमति भए दल विभाजनन गर्न सकिने व्यवस्था गरी अध्यादेश ल्याइएको छ।
सरकारले हिजो सोमबार संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरी आज अध्यादेश ल्याउने निर्णय गरेको हो।