बुधबार, भदौ १७, २०८३

र्‍यापर बादशाह र ईशा रिखीले गरे सम्बन्धविच्छेद

 |  मंगलबार, भदौ १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०८३

काठमाडौं- भारतीय र्यापर गायक बादशाहले ईशा रिखीसँग विवाह गरेको पाँच महिनामै सम्बन्धविच्छेद भएको पुष्टि गरेका छन्। 

उनीहरूले यसै वर्ष मार्चमा विवाह गरेका थिए। विवाह भएको करिब तीन महिनापछि नै उनीहरूबीच सम्बन्धमा समस्या आएको खबर सार्वजनिक भएको थियो।

बादशाहले सामाजिक सञ्जालमार्फत आफू र ईशा रिखीले आपसी सहमतिमा अलग हुने निर्णय गरेको बताएका छन्। उनले लेखेका छन्- 'मैले र ईशा रिखीले आपसी सहमतिमा अलग हुने र आ-आफ्नो बाटोमा अघि बढ्ने निर्णय गरेका छौँ। यो निर्णय आपसी सम्मानका साथ लिइएको हो। यस समयमा हाम्रो गोपनीयताको सम्मान गरिदिन सबैसँग आग्रह गर्दछौँ।'

उनले आफूहरूको सम्बन्धबारे थप अड्कलबाजी नगर्न पनि आग्रह गरेका छन्। साथै, यस विषयमा यही नै उनीहरूको अन्तिम भनाइ हुने बताएका छन्। 

बादशाहले यसअघि सन् २०१२ मा जैस्मिन मसीहसँग विवाह गरेका थिए। उनीहरूबाट सन् २०१७ मा छोरी जन्मिएकी थिइन्। दुवैबीच सन् २०२० मा सम्बन्धविच्छेद भएको थियो।

बादशाह र ईशा रिखीको पहिलो भेट एक साथीको पार्टीमा भएको थियो। त्यसपछि उनीहरूबीच नजिकिँदै गएर प्रेम सम्बन्ध सुरु भएको थियो। दुवैले लामो समयसम्म आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिएनन्। सन् २०२३ मा उनीहरूको विवाहको हल्ला चले पनि बादशाहले त्यसलाई अस्वीकार गरेका थिए। 

बादशाह बलिवुडसहितको संगीत क्षेत्रमा चर्चित छन् भने ईशा रिखी मोडल तथा अभिनेत्री हुन्। चण्डीगढमा जन्मिएकी ईशाले पञ्जाबी चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन्।

प्रकाशित: Sep 01, 2026| 16:01 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्