काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
आक्रमणमा आवासीय भवन, गोदाम, बाल अस्पताल र विद्यालयमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हवाई प्रतिरक्षा क्षेप्यास्त्रको अभावका कारण ठूलो क्षति भएको बताएका छन्। उनले सहयोगी मुलुकसँग थप प्रतिरक्षा क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गरेका छन्। युक्रेनका अनुसार रुसले १६८ वटा मानवरहित विमान र ४४ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये १४६ वटा मानवरहित विमान र ३९ वटा क्रुज क्षेप्यास्त्र खसालिएको दाबी गरिएको छ।
रुसले भने आफ्ना सैन्य संरचना र गोदामलाई लक्ष्य बनाएर आक्रमण गरिएको जनाएको छ। पछिल्ला केही सातादेखि दुवै पक्षले एकअर्काको भूभागमा ठूलो हवाई आक्रमण गर्दै आएका छन्।