शनिबार, साउन ३०, २०८३

इन्डोनेसिया भूकम्प अपडेट: मृतकको संख्या ३८ पुग्यो

 |  शनिबार, साउन ३०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०८३

काठमाडौं। इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान गएको ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या ३८ पुगेको छ। इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पमा केही मानिस घाइते भएका छन्।

भूकम्पपछि खोजी तथा उद्धार कार्य सुरु भएसँगै मृतकको सङ्ख्या बढिरहेको अधिकारीहरूले बताएका छन्। भूकम्प र त्यसपछि आएका दर्जनौँ परकम्पका कारण विभिन्न क्षेत्रमा भवन तथा संरचनामा क्षति पुगेको छ।

इन्डोनेसियाको मौसम तथा भूभौतिकी निकायका अनुसार भूकम्प स्थानीय समयअनुसार शनिबार बिहान ५ बज्नुअघि फ्लोरेस टापुमा गएको थियो। यसको केन्द्र १५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको केन्द्र जमिनको सतहको नजिक हुँदा त्यसको प्रभाव सामान्यतया बढी विनाशकारी हुने गर्छ।

भूकम्प गएको क्षेत्रमा ६.१ रेक्टर स्केलको शक्तिशाली परकम्पसहित अन्य धेरै परकम्प महसुस गरिएको छ। परकम्पका कारण थप संरचनामा क्षति पुग्न सक्ने भन्दै उद्धार टोलीले खोजी कार्यलाई तीव्र बनाएका छन्।

माउमेरे बन्दरगाहबाट सार्वजनिक भएको दृश्यमा अन्तरद्वीपीय पानीजहाज चढ्न प्रतीक्षा गरिरहेका यात्रुमाथि टर्मिनल भवनको कङ्क्रिटको ठूलो भाग खसेको देखिएको छ। पानीजहाजतर्फ जाने बाटो भत्किँदा केही यात्रु समुद्रमा खसेका थिए।

इन्डोनेसिया भूकम्प र ज्वालामुखी गतिविधिका दृष्टिले जोखिमपूर्ण देश हो। तीन ठूला भूगर्भीय प्लेट एकआपसमा भेटिने क्षेत्रमा रहेको कारण त्यहाँ बारम्बार भूकम्प र ज्वालामुखी विस्फोट हुने गर्छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले उल्लेख गरेको छ।

प्रकाशित: Aug 15, 2026| 16:37 शनिबार, साउन ३०, २०८३
प्रतिक्रिया दिनुहोस्