काठमाडौं- इन्डोनेसियाको पूर्वी नुसा तेङ्गारा प्रान्तस्थित फ्लोरेस क्षेत्रमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि स्थानीय अधिकारीहरूले मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
स्थानीय समयअनुसार बिहान करिब ५ बजे गएको भूकम्पको गहिराइ १५ किलोमिटर रहेको थियो। भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गाराको नागेकेओबाट करिब ३० किलोमिटर टाढा रहेको बताइएको छ।
इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी निकायले भूकम्पको प्रारम्भिक अध्ययनबाट पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तमा सुनामी आउन सक्ने सम्भावना रहेको बताएको छ।
भूकम्प जादा इन्डोनेसियाको राजधानी जकार्तामा त्यसबेला बिहान ७ बजेर केही मिनेट भएको थियो।
राष्ट्रिय विपद् व्यवस्थापन निकायले भूकम्पपछि सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नु र परकम्प तथा त्यससँग सम्बन्धित जोखिमबाट थप क्षति हुन नदिनु आफ्नो मुख्य प्राथमिकता रहेको जनाएको छ। साथै सर्वसाधारणलाई शान्त रहन तथा समुद्री तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। साथै, भूकम्पका कारण चर्किएका वा संरचनागत क्षति भएका भवनमा प्रवेश नगर्न पनि सचेत गराइएको छ।
भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्न तीव्र रूपमा प्रारम्भिक मूल्याङ्कन भइरहेको जनाइएको छ। क्षति तथा मानवीय हताहतीसम्बन्धी तथ्याङ्क प्रमाणीकरण भएपछि सार्वजनिक गरिने विपद् व्यवस्थापन निकायले जनाएको छ।