काठमाडौं– नेकपा एमालेका नेता योगश भट्टराईले दल विभाजन सम्बन्धी अध्यादेश संविधानलाई धराशायी बनाउने सुनियोजित षड्यन्त्र भएको बताएका छन्। सरकारले मंगलबार अध्यादेशका लागि सिफारिस गरेसँगै भट्टराईले व्यवस्था र संविधानलाई कमजोर बनाउन खोजिएको बताएका हुन्।
अध्यादेश ल्याउने कदम हिजो पनि गलत र आज पनि गलत रहेको उनको भनाइ छ। ‘राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर व्यवस्था र संविधानलाई धाराशायी पार्ने सनियोजित षड्यन्त्र हो। यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘विगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालीन नेतृत्वको घोर असफलता हो।’
प्रधानमन्त्री शेरबहादुर देउवाले विना सर्त अध्यादेश फिर्ता लिनुपर्ने उनको माग छ। ‘आजका दिनमा प्रम शेर बहादुर देउवाले यो अध्यादेश बिनासर्त फिर्ता लिनु पर्दछ। कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नु पर्दछ,’ उनले लेखेका छन्, ‘आमाको दुःखत निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने इच्छा नहुँदानहुँदै पनि आजको संगिन दिनमा यत्ति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनु होला।’