शुक्रबार, साउन २९, २०८३

कुरिल द्वीप समूहमा रुस र जापानको विवाद के हो ?

 |  शुक्रबार, साउन २९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०८३

काठमाडौं- रुसी राष्ट्रपति व्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग भएको दाबी गर्दै आएको विवादित कुरिल द्वीप समूहको पहिलोपटक भ्रमण गरेका छन्। बिहीबार भएको भ्रमणका क्रममा पुटिनले द्वीपमा रहेको माछा प्रशोधन केन्द्रको निरीक्षण गरेका थिए। क्रेमलिनले उनको भ्रमणसँग सम्बन्धित दृश्यसमेत सार्वजनिक गरेको छ।

पुटिनको भ्रमणप्रति जापानले कडा आपत्ति जनाएको छ। प्रशान्त महासागरमा रहेका चारवटा द्वीपलाई लिएर रूस र जापानबीच करिब ८० वर्षदेखि विवाद हुँदै आएको छ। जापानले यी द्वीपलाई ‘उत्तरी क्षेत्र’ भन्दै आफ्नो भूभाग दाबी गर्दै आएको छ भने रूसले आफ्नो कुरिल द्वीप समूहको हिस्सा मान्दै आएको छ। चार द्वीपमा कुनाशिर, इतुरुप, शिकोतान र हाबोमाई पर्छन्।

दोस्रो विश्वयुद्धको अन्तिम चरणमा सन् १९४५ मा तत्कालीन सोभियत संघले यी द्वीपमा नियन्त्रण कायम गरेको थियो। त्यसपछि त्यहाँ रहेका करिब १७ हजार जापानी नागरिकलाई हटाइएको थियो। रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेका कारण सोभियत संघले त्यहाँ हवाई तथा नौसैनिक संरचना निर्माण गरेको थियो। अहिले पनि रूसले यी क्षेत्रमा ठूलो संख्यामा सैनिक तथा आधुनिक सैन्य उपकरण राख्दै आएको छ। द्वीपमा करिब २० हजार मानिस बसोबास गर्छन्।

अत्यधिक चिसो हुने यी क्षेत्रमा माछाको ठूलो भण्डारसँगै खनिज स्रोतसमेत रहेकाले आर्थिक र सामरिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ। यही विवादका कारण दोस्रो विश्वयुद्धपछि अन्य धेरै देशले शान्ति सम्झौता गरे पनि रूस र जापानबीच अहिलेसम्म औपचारिक शान्ति सम्झौता हुन सकेको छैन। सन् १९५६ मा रूस र जापानबीच कूटनीतिक सम्बन्ध पुनःस्थापना भएपछि विवाद समाधानका लागि पटक-पटक वार्ता भए पनि सहमति हुन सकेन। तत्कालीन सोभियत नेता निकिता ख्रुश्चेभले शान्ति सम्झौताको बदलामा शिकोतान र हाबोमाई जापानलाई फिर्ता गर्ने प्रस्ताव गरेका थिए। तर जापानले चारवटै द्वीप फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ।

सन् १९९१ मा सोभियत संघ विघटन भएपछि पनि रूस र जापानबीच विवाद समाधानका लागि विभिन्न चरणमा वार्ता भए। सन् २०१० मा तत्कालीन रुसी राष्ट्रपति दिमित्री मेदभेदेभले विवादित द्वीपको भ्रमण गरेका थिए। त्यसपछि रूसले त्यहाँ आफ्नो सैन्य उपस्थिति थप बलियो बनाउँदै आएको छ। युक्रेन युद्धपछि रूस र जापानबीचको सम्बन्ध थप तनावपूर्ण बनेको अवस्थामा पुटिनको पछिल्लो भ्रमणलाई विवादित द्वीपमा रूसको दाबी पुनः स्पष्ट पार्ने कदमका रूपमा हेरिएको छ।

प्रकाशित: Aug 14, 2026| 15:01 शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्