काठमाडौं- अमेरिकी अदालतले भारतको अदाणी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिजा सागर अडानीविरुद्ध लगाइएको आपराधिक आरोप खारेज गरेको छ।
न्युयोर्कको पूर्वी जिल्लाका जिल्ला न्यायाधीश निकोलस गारौफिसले संघीय अभियोजनकर्ताको आग्रहपछि आरोप खारेज गरेका हुन्। भारतमा सौर्य ऊर्जा ठेक्का प्राप्त गर्न घुसखोरी गरेको र अमेरिकी लगानीकर्तालाई भ्रममा पारेको आरोप उनीहरूमाथि लागेको थियो।
अमेरिकी न्याय विभागले गत जुलाईमा उक्त मुद्दा सुरु नै हुन नहुने भन्दै आरोप स्थायी रूपमा खारेज गर्न माग गरेको थियो। विभागले कथित गतिविधि मुख्य रूपमा भारतमा भएको र अमेरिकी कानुनअन्तर्गत मुद्दा अघि बढाउन कानुनी आधार कमजोर रहेको तर्क गरेको थियो।
अदालतको निर्णयपछि गौतम अडानीले न्यायिक प्रक्रियाप्रति सम्मान व्यक्त गर्दै कठिन समयमा पनि सत्य, निष्पक्षता र कानुनी शासनप्रतिको आफ्नो विश्वास अडिग रहेको बताएका छन्।
