काठमाडौं- नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्थिर सरकार, स्थिर प्रशासनिक संयन्त्र र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा पर्याप्त लगानी आकर्षित गर्न कठिन हुने बताएका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै उनले लगानीकर्ताको विश्वास जित्न नीतिगत स्थिरता र सुशासन अपरिहार्य रहेको बताए।
पाण्डेका अनुसार नेपालले विगतका आर्थिक चुनौती र अनुभवबाट पाठ सिक्दै अब लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्छ। सरकार परिवर्तनसँगै नीति, प्राथमिकता र कार्यान्वयनका ढाँचामा हुने परिवर्तनले लगानीकर्तामा अन्योल सिर्जना गर्ने भएकाले दीर्घकालीन र पूर्वानुमान गर्न सकिने नीतिको खाँचो रहेको उनले बताए।
‘निजी क्षेत्रले लगानी गर्दा दीर्घकालीन योजना बनाउँछ। तर सरकार फेरिँदा नीति फेरिने र प्राथमिकता बदलिने अवस्था रहिरहँदा लगानीकर्ताले भविष्यप्रति विश्वास गर्न सक्दैनन,‘ उनले भने।
उनले कानुनी सुधार, पारदर्शिता र सुशासनमार्फत निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्नुपर्ने बताए। निजी क्षेत्रले वर्तमान सरकारबाट स्पष्ट नीति, प्रभावकारी कार्यान्वयन र व्यवसायमैत्री वातावरणको अपेक्षा गरेको उनको भनाइ छ।
पाण्डेले नेपालको सबैभन्दा ठूलो शक्ति युवा जनशक्ति भएको उल्लेख गर्दै ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशिनु अर्थतन्त्रका लागि चुनौतीपूर्ण अवस्था भएको बताए। स्वदेशमै उद्योग, पर्यटन, हरित प्रविधि, अनुसन्धान तथा मोबिलिटी क्षेत्रका सेवामा लगानी बढाउन सके रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न सकिने उनको धारणा छ।
उनका अनुसार उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न सके वैदेशिक रोजगारीमा निर्भरता घट्नुका साथै देशभित्रै आर्थिक गतिविधि विस्तार हुनेछ। विशेषगरी पर्यटन क्षेत्रको विकासले उद्योग, यातायात, सेवा र अन्य आर्थिक क्षेत्रलाई समेत चलायमान बनाउने उनले बताए।
अध्यक्ष पाण्डेले मोबिलिटी एक्स्पोलाई केवल सवारीसाधन प्रदर्शनीका रूपमा नहेरी नयाँ प्रविधि, नवप्रवर्तन, लगानी अवसर र भविष्यको यातायात प्रणालीबारे छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिनुपर्ने बताए।
उनले हरित ऊर्जा र विद्युतीय सवारीसाधनतर्फ विश्व आकर्षित भइरहेका बेला नेपालले पनि नीतिगत स्पष्टता र लगानीमैत्री वातावरणमार्फत यस क्षेत्रका अवसरलाई उपयोग गर्नुपर्ने बताए।
पाण्डेको भनाइमा, स्थिर सरकार, स्पष्ट नीति, सुशासन र निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सके नेपालले लगानी वृद्धि, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छ।
