काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दीबाट आजित भएर नुवाकोट, पंचकन्या गाउँपालिकाका ३३ जना पदाधिकारी तथा सदस्यहरूले राप्रपाबाट सामूहिक राजीनामा दिएका छन्।
आइतबार राप्रपा परित्याग गर्ने स्थानीय नेताहरूले अध्यक्ष राजेन्द्र लिङदेनले एउटै विचार, सिद्धान्त र एजेण्डामा कटिबद्ध सहयात्रीहरूलाई समेट्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन्। राप्रपा परित्याग गर्नेहरू डा. धवलशम्सेर राणा सभापति रहने प्रस्तावित जय नेपाल पार्टीमा आवद्ध हुने बताएका छन्।
नुवाकोट राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको गृह जिल्ला हो र स्थानीय तहका नेता, कार्यकर्ताहरूको सामूहिक राजीनामा अएपछि राप्रपाबाट ठूलै हलचल मच्चिएको छ।
राप्रपाबाट राजीनामा गर्नेहरूमा पंचकन्या गाउँपालिकाका राप्रपा अध्यक्ष चक्र बहादुर कार्की, उपाध्यक्षहरू गीता मिजार र शंकर थापा, सचिव जयराम थापालगायत सदस्यहरू छन्। त्यसैगरी राप्रपाबाट अलग हुनेमा पंचकन्या गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनोज कुमार राई, वडा नम्बर ३ का अध्यक्ष राजु कार्की, वडा नम्बर ४ का अध्यक्ष भक्त बहादुर अधिकारी र वडा नम्बर ५ का अध्यक्ष कर्ण प्रसाद सिटौला लगायत पाँचै वडाका अन्य पदाधिकारी तथा सदस्यहरू छन्।