काठमाडौं- दक्षिण भारतीय अभिनेता यशको मुख्य भूमिका रहेको ठूलो बजेटको चलचित्र ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन-अप्स’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा चलचित्रको कथा, दृश्यको भव्यता र अपराधको संसारलाई प्रस्तुत गरिएको देखिन्छ।
चलचित्रले शक्ति, द्वन्द्व र व्यक्तिगत सम्बन्धबीचको जटिलतालाई केन्द्रमा राखेको संकेत गरेको छ। सार्वजनिक ट्रेलरमा हिंसा, बदलिँदो निष्ठा र एकअर्कासँग जोडिएका पात्रहरूको कथा देखाइएको छ।
चलचित्रको मुख्य कथा राया र उनका छोरा टिकटबीचको सम्बन्धमा केन्द्रित रहेको देखिन्छ। दुवै पात्र एकअर्काको विपक्षमा उभिएको संकेत गरिएको छ। यही सम्बन्ध चलचित्रको मुख्य द्वन्द्व बन्ने देखिएको छ।
यशसँगै नयनतारा, कियारा आडवाणी, तारा सुतारिया, रुक्मिणी वसन्त र हुमा कुरैसी चलचित्रमा प्रमुख भूमिकामा छन्। सार्वजनिक ट्रेलरमा यी पात्रका केही दृश्य देखाइए पनि चलचित्रको वास्तविक कथाबारे धेरै विवरण गोप्य राखिएको छ।
चलचित्रको निर्देशन गीतु मोहनदासले गरेकी छन्। चलचित्रमा गाढा दृश्य, विस्तृत सजावट र योजनाबद्ध द्वन्द्वका दृश्यलाई विशेष महत्व दिइएको देखिन्छ। यशले राया र टिकट गरी दोहोरो भूमिका निर्वाह गरेको संकेत पनि ट्रेलरले गरेको छ। यसले चलचित्रमा बाह्य द्वन्द्वसँगै पात्रभित्रको द्वन्द्वलाई समेत महत्व दिइएको देखाउछ।
चलचित्रलाई कन्नड र अङ्ग्रेजी भाषामा एकसाथ छायांकन गरिएको छ। यसका साथै हिन्दी, तेलुगु, तमिल र मलयालम भाषामा समेत प्रदर्शन गरिने तयारी गरिएको छ। बहुभाषिक प्रदर्शनले चलचित्रलाई फराकिलो दर्शकसम्म पुर्याउने लक्ष्य देखाउछ।
केभिएन प्रोडक्सन्स र मोन्स्टर माइन्ड क्रिएसन्सको निर्माणमा बनेको चलचित्र ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन–अप्स’ अगस्ट २६ मा विश्वभरका चलचित्र हलमा प्रदर्शन हुने तय भएको छ।