काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले गरेको एकलौटी निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। नेपाल पक्षका नेताहरुको मंगलबार राजधानीमा बसेको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णय तत्काल फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएको हो। कस्तो निर्णय भन्नेबारे भने केही बताइएको छैन।
बैठकपछि नेता विरोध खतिवडाले भने, ‘केपी ओलीले जालझेल गरेर गरेका निर्णय फिर्ता नलिए आवश्यकताअनुसार अघि बढ्छौं। केपीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा छ, हामी अन्तिमसम्म एकता होस् भन्ने प्रयत्न गर्नेछौं।’
खतिवडाले ओली गुटले २६० जना सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पठाएर जालझेल गरेको, जालेझेललाई कसरी क्रस गर्ने भन्ने विषयमा परामर्श भएको जानकारी दिए। उनले भने, ‘हाम्रा लागि अध्यादेश आएको होइन। हामी त ३०/४० प्रतिशत नै छौं। बरु महन्थ ठाकुरजीहरुका लागि सजिलो पार्न २० प्रतिशत भए पार्टी फुटाउन पाउने अध्यादेश आएको होला।’ बैठकमा २२ जना सांसद सहभागी थिए। नेताहरूबी वर्तमान राजनीतिक अवस्था, दल विभाजनसम्बन्धी अध्यादेश लगायतका विषयमा छलफल भएको थियो।