शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमणमा बालकसहित तीन जनाको मृत्यु

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमणमा बालकसहित तीन जनाको मृत्यु

 |  शनिबार, साउन २३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०८३

काठमाडौं- युक्रेनको राजधानी किभनजिक रुसले गरेको रातभरको क्षेप्यास्त्र आक्रमणमा बालकसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ। आक्रमणमा अन्य तीन जना घाइते भएका छन्।

शनिबार बिहान राजधानी किभको पूर्वी क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको थियो। प्रत्यक्षदर्शीहरूले शक्तिशाली विस्फोटको आवाज सुनेका थिए। केही दिनअघि युक्रेनका विभिन्न क्षेत्रमा भएका रुसी आक्रमणमा २१ जनाको मृत्यु भएको थियो।

क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार क्षेप्यास्त्र खस्दा त्यसबाट निस्किएको भग्नावशेषले आवासीय भवन र सवारीसाधनमा क्षति पुर्‍याएको छ। एउटा छुट्टै भवनमा आगलागी भएको थियो। उनका अनुसार क्षेप्यास्त्र आक्रमणमा तीन जना घाइते भएका छन्।

किभका नगरप्रमुख भिताली क्लिच्कोले सामाजिक सञ्जालमार्फत एक भवन र इन्धन भण्डारण ट्याङ्कीमा लागेको आगो नियन्त्रण गर्न उद्धारकर्मी परिचालन गरिएको बताएका छन्।

युक्रेनको राज्य आपत्कालीन सेवाले किएभमा ग्यारेज, व्यापारिक भवन र एउटा अन्य भवनमा आगलागी भएको तस्बिर सार्वजनिक गर्दै आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको जनाएको छ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सर्बियाको राजधानी बेलग्रेड पुगेका छन्। रुसी क्षेप्यास्त्र आक्रमण रोक्न प्रयोग हुने प्रतिरोधी क्षेप्यास्त्रको भण्डार घट्दै गएपछि युक्रेनको प्रतिरक्षा क्षमताबारे चिन्ता बढिरहेका बेला उनको सर्बिया भ्रमण भएको हो।

जेलेन्स्कीले युक्रेनका लागि थप अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेका छन्। सर्बियाका राष्ट्रपति अलेक्जान्दर भुचिचले भने रुसमाथि प्रतिबन्ध लगाउन अस्वीकार गर्दै आएका छन्। यद्यपि सर्बियाले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउँदै आएको छ र युद्धपछि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

बेलग्रेडमा जेलेन्स्की र भुचिचबीच आर्थिक सम्बन्ध, युरोपेली सङ्घसँगको सम्बन्ध तथा सुरक्षा विषयमा छलफल हुने तय भएको छ।

यसअघि जेलेन्स्कीले साझेदार मुलुकबाट प्रतिरोधी क्षेप्यास्त्र प्रणाली प्राप्त गर्न भइरहेको ढिलाइका कारण ठूलो जनधनको क्षति भइरहेको बताएका थिए। उनले युक्रेनसँग बलियो प्रतिरोधी क्षमता भएको भए पछिल्ला घातक आक्रमणमा धेरै मानिसको ज्यान जोगाउन सकिने बताएका थिए। जेलेन्स्कीले यस वर्ष सहयोगी मुलुकबाट प्राप्त हुने प्रतिरोधी क्षेप्यास्त्रको आपूर्ति उल्लेख्य रूपमा घटेको पनि बताएका छन्।

पछिल्लो समय रुस र युक्रेनबीचको आक्रमण थप तीव्र भएको छ। युक्रेनले रुसको गहिरो भूभागमा रहेका दुई तेल प्रशोधन केन्द्र तथा कृष्ण सागरमा रुससँग सम्बन्धित पानीजहाजलाई समेत निशाना बनाएको थियो।

जेलेन्स्कीले यस्ता कारबाही रुसको युद्ध सञ्चालनका लागि प्रयोग हुने तेलबाट प्राप्त आम्दानी घटाउने उद्देश्यले गरिएको बताएका छन्। रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेका मध्यस्थता तथा वार्ता प्रयास प्रभावकारी रूपमा अघि बढ्न नसकेपछि पछिल्ला दिनमा दुवै पक्षबाट आक्रमण तीव्र भएको छ।

प्रकाशित: Aug 08, 2026| 14:41 शनिबार, साउन २३, २०८३
प्रतिक्रिया दिनुहोस्