काठमाडौं। थाइल्यान्ड सरकारले पछिल्लो विद्यालय गोलीकाण्डपछि हतियार नियन्त्रणसम्बन्धी नयाँ कानुन ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री अनुतिन चर्नविराकुलले सर्वसाधारणले हतियार बोकेर हिँड्न पाउने व्यवस्थामा कडाइ गर्ने गरी नयाँ कानुन ल्याइने बताएका छन्।
प्रधानमन्त्री अनुतिनले सञ्चारकर्मीसँग कुरा गर्दै प्रस्तावित कानुनअनुसार ड्युटीमा खटिएका सरकारी अधिकारीबाहेक अन्य व्यक्तिले हतियार बोक्न नपाउने व्यवस्था गर्न लागिएको जानकारी दिए।
उनले नयाँ कानुनबारे विस्तृत विवरण सार्वजनिक नगरे पनि हतियार राख्ने अनुमति प्रक्रियामा कडाइ गरिने संकेत गरेका छन्। थाइल्यान्डमा नागरिकसँग कानुनी तथा गैरकानुनी दुवै माध्यमबाट ठूलो संख्यामा हतियार रहेको र दक्षिण-पूर्वी एसियामै नागरिक हतियार स्वामित्व उच्च रहेको बताइन्छ।
प्रहरीका अनुसार पछिल्लो घटनामा १४ वर्षीय एक किशोरले आफ्नै हजुरबुबाको नाममा रहेको ९ एमएम पेस्तोल प्रयोग गरी घरमै हजुरआमा र हजुरबुबाको हत्या गरेका थिए। त्यसपछि उनले स्थानीय समयअनुसार बिहान १० बजेपछि आफू अध्ययनरत बैंकक नजिकैको डेब्सिरिन विद्यालयमा पुगेर गोली चलाएका थिए। घटनामा पाँच जना शिक्षकको मृत्यु भएको प्रहरीले जनाएको छ।
गोली चलाउने किशोरले पछि आफैँलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ। घटनामा कम्तीमा ३० जना घाइते भएका छन् भने नौ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रधानमन्त्री अनुतिनले आक्रमण निकै योजनाबद्ध रहेको र आक्रमणकारीसँग अझै ३० भन्दा बढी गोली बाँकी रहेको अवस्थामा आत्महत्या गरेको बताए। उनले समयमै नियन्त्रण नभएको भए थप ठूलो क्षति हुन सक्ने उल्लेख गरे।
घटनाबाट बचेका विद्यार्थीहरूले आफूहरूले निकै भयावह अवस्था सामना गर्नुपरेको बताएका छन्। एक विद्यार्थीले आफ्नै अगाडि एक शिक्षकलाई गोली लागेको देखेपछि आफू पर्खाल नाघेर भागेको बताएकी छन्।
घटनापछि थाइल्यान्डमा हतियार नियन्त्रणसम्बन्धी बहस पुनः सुरु भएको छ। राजनीतिक दल तथा सरोकारवालाहरूले देशको हतियारसम्बन्धी नीति पुनरावलोकन गर्नुपर्ने माग गरेका छन्। थाइल्यान्डमा पछिल्ला केही वर्षमा भएका ठूला गोलीकाण्डले पनि हतियार नियन्त्रणको विषयलाई पटक–पटक बहसमा ल्याउँदै आएको छ।
२०२६ मै हाट याई सहर नजिकैको एक विद्यालयमा भएको घटनामा प्रधानाध्यापक र एक विद्यार्थी घाइते भएका थिए। दुई घण्टासम्म चलेको तनावपछि प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको थियो। २०२५ मा बैंककस्थित ओर टोर कोर बजारमा भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको थियो। आक्रमणकारीले पछि आत्महत्या गरेका थिए। प्रहरीले बजारका सुरक्षा कर्मचारीसँगको विवादपछि घटना भएको जनाएको थियो।
त्यसअघि २०२३ मा बैंककको एक व्यापारिक केन्द्रमा १४ वर्षीय किशोरले गोली चलाउँदा दुई जनाको मृत्यु र पाँच जना घाइते भएका थिए। त्यसैगरी २०२२ मा उत्तरपूर्वी थाइल्यान्डमा पूर्वप्रहरीले बाल हेरचाह केन्द्रमा आक्रमण गर्दा २३ बालबालिकासहित ३७ जनाको मृत्यु भएको थियो। पछि प्रहरीले उनलाई कारबाही गरेको थियो। सन् २०२० मा नाखोन रात्चासिमा सहरमा एक सैनिकले गोली चलाउँदा २६ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका थिए। उनले आफ्ना कमान्डरको हत्या गरी सैनिक शिविरबाट हतियार लिएर आक्रमण गरेका थिए।