शुक्रबार, साउन २२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा आज हुँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा आज हुँदै

 |  शुक्रबार, साउन २२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०८३

काठमाडौं- आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। विभागले आज पहिलो उपहार कार्यक्रम घोषणा गर्दैछ।

विभागले साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेवसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिने बताएको छ। जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक-एक लाख रुपैयाँ नगद उपहार पाउने छन्। यस्तै साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा हुनेछ। जसमा एक जनाले १० लाख रुपैयाँ नगद जित्नेछन्। यो पुरस्कार रकममा भने कर लाग्नेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए। करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ।

बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन्। तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ।

नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेवसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ।

प्रकाशित: Aug 07, 2026| 08:18 शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्