काठमाडौं- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेको दुई वर्षपछि बुधबार पहिलो पटक भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन गरेकी छन्।
करिब २५ मिनेट लामो सम्बोधनका क्रममा उनले आफ्नो क्यामेरा भने बन्द राखेकी थिइन्। सम्बोधनमा हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने बताउदै जेल वा मृत्युदण्डको धम्कीले आफू नडराउने स्पष्ट पारिन्।
उनले भनिन्- 'मलाई थाहा छ, उनीहरूले मलाई जेल हाल्न सक्छन् वा मार्न पनि सक्छन्। त्यसपछि पनि म डिसेम्बरमा बंगलादेश फर्किनेछु। जनताको साथ र समर्थन मेरो लागि सबैभन्दा महत्त्वपूर्ण छ। मृत्युदण्ड, झुटा मुद्दा र देखावटी सुनुवाइले मलाई डराउन सक्दैन। मविरुद्ध चलाइएको कानुनी प्रक्रिया गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यबाट प्रेरित छ।’
हसिनाले आफूले स्वेच्छाले बंगलादेश नछोडेको पनि बताइन्। प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासतर्फ अघि बढेपछि त्यहाँबाट निस्कन आफूलाई केवल ३० देखि ४० मिनेटको समय मात्र मिलेको उनले उल्लेख गरिन्। उनका अनुसार त्यसबेला आफू देश छोड्न लागेको भन्ने पनि थाहा थिएन। उनी आफ्नो पुर्ख्यौली गाउँ तुङ्गीपाडा जाने तयारीमा थिइन्, तर परिस्थितिले देश नै छोड्न बाध्य बनायो।
शेख हसिना सन् २०२४ को अगस्टदेखि भारतमा बस्दै आएकी छन्। विद्यार्थी आन्दोलनपछि उनको सरकार ढलेको थियो र त्यसपछि उनले ढाका छोड्नुपरेको थियो।
गत वर्ष नोभेम्बरमा ढाकास्थित विशेष न्यायाधिकरणले सन् २०२४ को आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि गरिएको कारबाहीलाई मानवताविरुद्धको अपराध ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। त्यसयता बंगलादेश सरकारले भारतसँग उनको प्रत्यर्पणको माग गर्दै आएको छ। हसिना अन्तिम पटक सन् २०२४ अगस्ट ५ मा सार्वजनिक रूपमा देखिएकी थिइन्। त्यसदिन उनी ढाकाबाट भारत पुगेकी थिइन्। त्यसयता उनी गोप्य स्थानमा बस्दै आएकी छन्। दुई वर्षपछि आयोजित भर्चुअल पत्रकार सम्मेलनमार्फत उनले आफ्नो धारणा सार्वजनिक गरे पनि अनुहार भने देखाइनन्। सञ्चारमाध्यमहरूका अनुसार क्यामेरामा देखिएमा उनको पृष्ठभूमि, बसोबासको स्थान वा सुरक्षा व्यवस्थासम्बन्धी विवरण सार्वजनिक हुन सक्ने जोखिमका कारण उनले क्यामेरा बन्द राखेकी हुन्।
बंगलादेश सरकारले भारतको भूमिबाट शेख हसिनाले गर्ने राजनीतिक गतिविधिले दुई देशबीचको सम्बन्धमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएको छ। त्यसैले भारतको विदेश मन्त्रालयले यो निजी कार्यक्रमसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ।
विश्लेषकहरूका अनुसार यदि हसिना भिडियोमार्फत प्रत्यक्ष देखिएर राजनीतिक सन्देश दिएकी भए, त्यसलाई भारतले उनलाई खुला राजनीतिक मञ्च उपलब्ध गराएको रूपमा व्याख्या गर्न सकिने अवस्था थियो।
यसबाहेक बंगलादेशमा उनीविरुद्ध मृत्युदण्डको फैसला भइसकेको र उनको प्रत्यर्पणको मागसमेत भइरहेका कारण क्यामेरामा देखिँदा कानुनी तथा कूटनीतिक विवाद थप जटिल बन्न सक्ने आकलन गरिएको थियो। यही कारण उनले अनुहार नदेखाई केवल आवाजमार्फत मात्र सम्बोधन गरेको बताइएको छ।