बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस विभाजनले लोकतन्त्र नै कमजोर हुन्छ, एकतावद्ध हौं : नेता बिष्ट

कांग्रेस विभाजनले लोकतन्त्र नै कमजोर हुन्छ, एकतावद्ध हौं : नेता बिष्ट

 |  बुधबार, साउन २०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य आनन्द बिष्टले पार्टी विभाजनको सम्भावित बाटो रोक्दै एकताको पक्षमा दृढताका साथ उभिन सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आह्वान गरेका छन्।

कांग्रेस विभाजन हुँदा केवल एउटा पार्टी मात्र नटुक्रिने तर देशको लोकतान्त्रिक भविष्य नै कमजोर हुने चिन्ता व्यक्त गर्दै नेता बिष्टले लाखौं नेपालीको विश्वास, त्याग र बलिदानबाट निर्माण भएको गौरवशाली पार्टीलाई कुनै पनि व्यक्ति वा समूहको अहंकार, आवेग वा क्षणिक स्वार्थको बन्दी बन्न दिन नहुने बताएका छन्। 

विश्वेश्वरप्रसाद कोइरालालगायत अग्रजहरूको लामो संघर्षबाट बनेको कांग्रेसको अमूल्य विरासतको रक्षा गर्नु आज सबै कांग्रेसजनको साझा दायित्व भएको उनको भनाइ छ।

पार्टी कमजोर भएमा पद, प्रतिष्ठा र व्यक्तिगत विजय सबै अर्थहीन हुने उल्लेख गर्दै बिष्टले पद फेरि प्राप्त गर्न सकिए पनि विभाजित संगठन, फुटेको विश्वास र क्षतविक्षत इतिहासलाई जोड्न दशकौं लाग्न सक्ने बताए। तसर्थ, सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरूलाई उत्तेजनाभन्दा माथि उठेर धैर्यता, संयमता र दूरदृष्टिका साथ पार्टी विभाजनको सम्भावित बाटो रोक्न अग्रसर हुन उनले आग्रह गरेका छन्।

नेपाली कांग्रेस लाखौं कार्यकर्ताको पसिना, हजारौं शहीदको बलिदान र करोडौं नेपालीको लोकतान्त्रिक विश्वासको प्रतीक भएकाले यसलाई अन्तर्राष्ट्रिय जगतले समेत सम्मान र विश्वासका साथ हेरेको विष्टले स्मरण गराएका छन्। 

आज सबैले आ-आफ्नो ठाउँबाट एकताको पक्षमा आवाज उठाउँदै संवादको वातावरण बनाउन र आपसी विश्वास बलियो बनाउन जोड दिँदै उनले आज लिने निर्णयले नै भोलिको इतिहास लेख्ने बताएका छन्। 'हाम्रो पुस्ताले इतिहास जोगाउने निर्णय गरोस्, इतिहास फुटाउने होइन,” बिष्टले भनेका छन्, 'नेपाली कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्र बलियो भए मात्र नेपाल र नेपालीको भविष्य सुरक्षित हुन्छ।'

प्रकाशित: Aug 05, 2026| 16:39 बुधबार, साउन २०, २०८३
प्रतिक्रिया दिनुहोस्