सुदूरपश्चिमको भूगोल, संस्कृति र त्यहाँका मानिसहरूले भोगेका यथार्थलाई साहित्यमा उतार्ने एक सशक्त हस्ताक्षरका रूपमा लेखक पुष्प राज पाण्डेय परिचित छन्। आफ्ना वरिपरि घटेका घटना, समयले छोडेका घाउ र समाजका विभिन्न तहमा रहेका मानवीय संवेदनालाई अक्षरमा कोर्नु उनको लेखनको विशेषता हो। मानवीय संवेदनालाई नजिकबाट नियाल्दै जन्मिएको उनको कथासंग्रह “किनार” ले नेपाली साहित्यमा सुदूरको प्रतिनिधित्वलाई थप बलियो बनाएको छ। पात्रको मनोदशा र उनीहरूको संघर्षलाई कथाको केन्द्रमा राखेर लेख्न रुचाउने लेखक पाण्डेय कथा लेखनलाई केवल एउटा सिर्जना मात्र नभई सामाजिक विसंगति र वर्गीय असमानता विरुद्धको बहसका रूपमा पनि हेर्छन्।
लेखनमा नवीन शिल्प, यथार्थवादी शैली र पाठकलाई जोड्न सक्ने क्षमताका कारण उनको “किनार” छोटो समयमै साहित्यिक वृत्तमा चर्चा बटुलिरहेको छ। वृद्धाश्रमका आमाका आँसुदेखि प्रेममा हारेका भोगाइ र कोरोना कहरले निम्त्याएको सन्नाटासम्मका दृश्यहरूलाई जीवन्त रूपमा उतारिएको यो संग्रह केवल केही कथाहरूको संकलन मात्र होइन, बरु मानवीय संवेदनाको एक दस्तावेज हो। दोस्रो संस्करणको तयारीमा रहेको यो कृतिले समकालीन नेपाली कथाको मूलधारमा उनलाई एक आशालाग्दो र गम्भीर कथाकारका रूपमा स्थापित गरेको छ। आज उनै पाण्डेयसँग गरिएको साहित्य संवाद देश सञ्चारले प्रस्तुत गरेको छ।
“किनार” कथासंग्रह बजारमा आउनुअघि मैले कथा लेख्नुपर्छ भन्ने कथा कहाँबाट अंकुराएको थियो?
म बिभिन्न घटनाहरूको साक्षी आफैँ भएको छु । कति घटनाहरू आफैँमाथि पनि घटित भएका छन्। धेरैजसो कुरा समयसितै हराए तर केहि घटनाले भने मलाई निदाउन दिएनन्। कति घटना सम्झेर म वर्सौं हल्लिएको छु । हराएका आफ्ना पृयजनको अनिश्चित आगमन पर्खिरहेका थकित आँखाहरू, जलनको पीडाको आलाप, प्रेममा हारेर बाँचेका विभत्स भोगाइ, वृद्धाश्रममा सन्तानबाट लखेटिएका आमाका आँशु, जिउन कठिन भएर मृत्यु रोज्न विवश मान्छेहरू, निष्पट्ट निरासाभित्र आशाको झिल्को देखाउने परिवेश आदि घटनाले मलाई बेचैन पारेपछि “किनार” अंकुरित भएको हो। जब कोरोनाको कहर शुरु भयो, यी घटना झन जिवन्त बनेर मेरो अगाडी आइरहे, गइरहे। तीनै वास्तविक घटनाहरुलाई लेख्दै जाँदा “किनार” जन्मिएको हो।
नेपाली कथा लेखनमा सुदूरपश्चिमबाट थुप्रै उदाए। त्यसलाई निरन्तरता दिन भने कमैले सकेका छैन। त्यो निरन्तरता बारे कति गम्भीर हुनुहुन्छ?
कथा लेखनमा सुदूरपश्चिमको ठूलो योगदान छ। कथा लेखनमा निरन्तरता दिन सक्नु आफैमा पक्कै एक चुनौती भने हो। यसका पछाडी विभिन्न कुरा छन्। यसमा सबैभन्दा ठूलो कुरा यसको व्यवसायिकता हो। एउटा कथा पाठकले मन पराएपछि मात्र अर्को कथाको निरन्तरता जारी रहन सहज हुन्छ। म निरन्तरता दिने कुरामा एकदमै गम्भीर छु। समयको माग अनुसारका कथाबस्तु, कथामा नयाँनयाँ प्रयोग, शैलीगत सील्पको नबीन उद्घघाटन गर्नुपर्छ। पाठकहरुलाई तान्न सक्ने कथाहरू ल्याउन सकेमा कथा लेखनलाई निरन्तरता दिन सकिन्छ भन्ने कुरामा म विश्वस्त छु।
तपाईंले कथामा के कुरालाई बढी केन्द्रमा राख्नु भएको छ। सुदूर पश्चिम कति अटाउन सक्यो?
मेरा लागि पात्रहरू केन्द्रमा रहन्छन्। किनकी पात्रहरूले नै कथा निर्माण गर्छन्। पात्रहरूको नियति वा उनीहरुले गर्ने विभिन्न क्रियाकलापले नै कथा जन्माइदिन्छ। उदाहरणका लागि “किनार” कथासँग्रहभित्रको कथा “विक्रोश नृत्य”को जलवीर भन्ने पात्रको गतिविधिले नै कथा जन्माइदिएको छ। “किनार”का लगभग सबै कथाहरू सुदूरपश्चिमकै सेरोफेरोमा उनिएका छन्। तर, मानवजातीले अनुभूत गर्ने कुराहरू सबैका लागि साझा हुने गर्छन् यस अर्थमा “किनार”का कथाहरू मानव जातीले भोगेका साझा कथा हुन्, जसले मानवीय संवेदनालाई बोकेका छन्।
कथा संग्रह 'किनार'ले मूलधारका साहित्यमा कस्तो स्थान पाउने विश्वास छ?
पाठक र समिक्षकको प्रतिकृयालाई आधार मान्ने हो भने “किनार”ले मूलधारमा आफ्नो जवरजस्त स्थान बनाइसकेको छ। यथार्थ विषयवस्तु, लेखनमा गरिएको नयाँ प्रयोग र कथाका घटनालाई नयाँ दृष्टिकोणबाट प्रस्तूत गरिएकोले “किनार” मूलधारका कथासित प्रतिश्पर्धामा खरो उत्रन सक्ने छ्यमता राख्छ। यो मैले पाठकहरूका प्रतिकृयाहरूलाई आधार मानेर भनेको हुँ। पुस्तक छोटो समयमै दोस्रो संस्करणमा जाने तयारीमा रहनुले पनि यो कुरालाई पुष्टि गर्छ।
कथाहरूमा देखिएका वर्गीय असमानता र सामाजिक विभेदमाथि कलम चलाईरहँदा तपाईंलाई सुदूरदेखि सुदूरपूर्वसम्म विभेद गर्ने शिक्षितबाटै भएको छ भन्ने लाग्दैन?
वर्गीय असमानता र सामाजिक विभेद जोसुकैबाट पनि भइरहेको हुनसक्छ। शिक्षितबाटै पनि विभेद भएको छ। प्रश्न यो पनि संगै आउँछकी हामीले कस्तो शिक्षा दिइरहेका छौं? के हाम्रो शिछ्याले मानवीय संवेदनालाई राम्ररी छुन सकेको छ? तर, शिक्षाकै कारण बर्गीय असमानता र सामाजिक विभेद केही हदसम्म घट्दै गइरहेका छन्।