काठमाडौं- प्रभु बैंक लिमिटेडले आफ्नो संस्था, सञ्चालक र व्यवस्थापनबारे केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। बैंकले ती समाचारलाई ‘एकपक्षीय, अतिरञ्जित र भ्रामक’ भन्दै पूर्ण खण्डन गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले आइतबार विज्ञप्ति जारी गर्दै यस्ता समाचारले बैंकको संस्थागत प्रतिष्ठा र सार्वजनिक विश्वासमा आँच पुर्याउने काम गरेको बताए।
विज्ञप्तिमा कर्मचारी सरुवा, कर्जा असुली प्रक्रिया र धितो लिलामी सूचनाजस्ता विषय बैंकिङको नियमित र कानुनसम्मत अभ्यास भएको उल्लेख छ। प्रमाणबिना यस्ता प्रक्रियालाई फरक ढंगले प्रस्तुत गर्नु पत्रकारिताको मर्म र व्यावसायिक आचारसंहिता विपरीत भएको बैंकको जनाएकाे छ।
कर्जा फाइलबारे अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको र केही मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुनको पूर्ण पालना गर्दै जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रणलाई थप सुदृढ बनाएको दाबी छ।
बैंकले आफ्ना निक्षेपकर्ता, ग्राहक र सरोकारवालालाई बैंकबाट आधिकारिक रूपमा जारी सूचना र विश्वसनीय स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन सबैमा अनुरोध गरेको छ।