काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यकता परे अमेरिका फेरि इरानमाथि सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। तर, आफू सैन्य कारबाहीभन्दा वार्तामार्फत समाधान खोज्न चाहेको उनले बताएका छन्।
राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको विशेष विमानमा सञ्चारकर्मीसँग कुरा गर्दै आवश्यक पर्दा जुनसुकै बेला कारबाही गर्न सकिने भए पनि आफू मानिसको ज्यान जाने अवस्था सिर्जना गर्न नचाहेको बताए। उनका अनुसार सम्झौता भए धेरैको ज्यान जोगिन सक्नेछ।
उनले आजदेखि अमेरिका र इरानबीच मध्यस्थकर्तामार्फत अप्रत्यक्ष वार्ता सुरु हुने जानकारी पनि दिएका छन्। वार्तामा होर्मुज जलडमरु र इरानको आणविक कार्यक्रमलगायतका विषयमा छलफल हुने जनाइएको छ। यद्यपि, वार्ता कहाँ र कसको सहभागितामा हुने भन्ने खुलाइएको छैन।
ट्रम्पले साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्सको अनुरोधपछि इरानमाथि प्रस्तावित नयाँ आक्रमण स्थगित गरिएको पनि बताएका छन्। उनका अनुसार अमेरिकी सेना दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो आक्रमणको तयारीमा रहे पनि अन्तिम समयमा कूटनीतिक प्रयासलाई अवसर दिने निर्णय गरिएको हो।