काठमाडौं- पञ्चकन्या समूहले उत्पादन गर्ने सिपिभिसी पाइप र स्टेनलेस स्टिल (एसएस) ट्यांकीले भारतमा 'ग्रिन प्रो' मानक प्राप्त गरेका छन्। वातावरण तथा दिगो विकास क्षेत्रका काम गर्ने भारतको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिसिआई) बाट पञ्चकन्याका यी दुई उत्पादनले ग्रिन प्रो मानक प्राप्त गरेका हुन्।
भारतको पुणेमा भएको नवौं संस्करणको ‘सिसिआई ग्रिन प्रो २०२६’ मा पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले पञ्चकन्या प्लास्ट प्रालि र पञ्चकन्या एसएस प्रालिले प्राप्त गरेको ग्रिन प्रो मानक ग्रहण गरेका हुन्।
ग्रिन प्रो मानक कुनै पनि वस्तुको उत्पादन चक्र, वातावरणीय प्रभाव, दिगो विकास तथा नवीकरणीय उर्जा प्रविधि, कार्बन उत्सर्जन न्यूनीकरण एवं औद्योगिक सुुरक्षा लगायत क्षेत्रका मापदण्ड मूल्यांकन पश्चात मात्रै प्रदान गर्ने गरिन्छ।
पञ्चकन्या समूहले उत्पादन गर्ने सिपिभिसी पाइप र स्टेनलेस स्टिल ट्यांकीले यी सबै मापदण्ड पुरा गरेपछि मात्रै सिसिआईबाट अन्तर्राष्ट्रिय स्तरको मानक प्राप्त गरेका हुन्। पञ्चकन्या समूह अन्तर्गतकै पञ्चकन्या स्टिल प्रालिले उत्पादन गर्ने फलामे छडले नेपालकै पहिलो ग्रिन प्रो मानक एक वर्ष पहिले नै प्राप्त गरिसकेको छ।
पञ्चकन्या समूहले उद्योग स्थापनदेखि नै गुणस्तरीय उत्पादनसगै वातावरण संरक्षण र दिगो विकास उच्च प्राथमिकतामा राख्दै नवीनतम सोचसहित उत्पादन प्रक्रिया अगाडि बढाइरहेको समूहका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठले बताए। समूहले एक दशक अगाडिदेखि नेपालमा पहिलो पटक स्टेनलेस स्टिल ट्यांकी र सिपिभिसी पाइपको उत्पादन सुरु गरेको थियो।
हाल समूहले काठमाडौं र रुपन्देही कोटिहवामा रहेका उद्योगबाट १२५ लिटरदेखि १० हजार लिटरसम्मका स्टेनलेस स्टिल ट्यांकी उत्पादन गरिरहेको र ८ वर्षदेखि भारतका विभिन्न सहरमा समेत निर्यात गरिरहेको श्रेष्ठले बताए। उद्योगले २०६३ सालमा नेपालमै पहिलो पटक जापानी कच्चापदार्थ प्रयोग गरी सिपिभिसी पाइप उत्पादन सुरु गरेको थियो।