मंगलबार, साउन १२, २०८३

साहित्य र चलचित्रका दुई साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ 

 |  मंगलबार, साउन १२, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०८३

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिने भएको छ।

दाहाल यज्ञनिधि सुधा सदनको यही श्रावण ९ गते बसेको कार्यसमिति बैठकले नेपाली भाषा-साहित्य, शिक्षा, कला एवम् समावेशी संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत संयुक्त रुपमा  पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।

सदनकी अध्यक्ष सुधा दाहालका अनुसार भारतको मणिपुरमा रहेर शिक्षण पेशासँगै नेपाली भाषा, साहित्य र पाठ्यक्रम निर्माणमा निरन्तर समर्पित साहित्यकार भवानी अधिकारी तथा नेपाली सिनेमामा मौलिक सौन्दर्यशास्त्रको निर्माण गर्दै सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पुर्‍याउनुभएका निर्देशक नवीन सुब्बालाई सम्मान गर्न लागिएको हो। ताम्रपत्रसहित प्रस्तुत पुरस्कारको राशि संयुक्त रुपमा एक लाख पचास हजार रहेको छ।

पुरस्कार पाउने व्यक्तित्वमध्ये भवानी अधिकारी मणिपुर (भारत) को सुन्तोलाबारीमा जन्मनुभई दुई दशकभन्दा बढी समयदेखि नेपाली र मणिपुरी साहित्य सिर्जनामा सक्रिय छन्। उनका ‘कोरौगी मरोक मङाल’, ‘मनका आवेग’, ‘आँखीझ्याल भित्र मणिपुर’, ‘मेरो लोकताक’ र ‘उन्मुक्त उडान’ लगायतका कृति प्रकाशित छन्। उनले ‘एउटा पिस्तौल एउटा कुन्द पुष्प’, ‘मरुभूमि’ लगायतका कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन गरेका छन्। 

त्यसैगरी, वि.सं. २०४० को दशकदेखि पत्रकारिता र सिनेमा समीक्षा हुँदै निर्देशनमा प्रवेश गरेका नवीन सुब्बा नेपाली मौलिक चलचित्र निर्माणका अग्रणी व्यक्तित्व हुन। उनले ‘तरेबा’, ‘खाङ्ग्री’, ‘नुमाफुङ’, ‘दलन’, ‘गूडबाइ काठमाडौँ’, ‘सिंहदरबार २’ तथा ‘गाउँ आएको बाटो’ जस्ता बहुचर्चित चलचित्र तथा शृङ्खलाको निर्देशन गरेका छन्। उनी हाल ‘लाहुरे जुत्ता’ नामक नयाँ चलचित्र निर्माणको तयारीमा छन्।

उक्त पुरस्कार आगामी श्रावण २५ गते सोमबारका दिन काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरको माथिल्लो हलमा आयोजना गरिने विशेष समारोहमा अर्पण गरिने सदनले जनाएको छ।

दाहाल यज्ञनिधिको नाममा स्थापित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थामा ५१ लाख रूपियाँको अक्षयकोश राखिएको छ। अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष  विशिष्ट व्यक्तित्वलाई पुरस्कार र बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गर्दै आएको छ।

दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट  भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल)का दुई जना छात्रछात्रा पुरस्कृत हुन्छन्। हरेक वर्ष कक्षा ८ बाट उर्तीण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउने छात्रछात्रालाई बाल प्रतिभा पुरस्कार प्रदान गरिन्छ। दाहाल यज्ञनिधिले लामो समय अध्यापन गर्नुभएको दरबार स्कुलमा उनको नाममा बाल प्रतिभा पुरस्कार स्थापना भएको हो। 

वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो। उनका ‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), दाहाल यज्ञनिधिको जीवन चर्चा र कृति चर्चा 'जदौ' (२०६९), दाहाल यज्ञनिधिको जीवनदृष्टि (२०८१) लगायत जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन्।

प्रकाशित: Jul 28, 2026| 16:59 मंगलबार, साउन १२, २०८३
प्रतिक्रिया दिनुहोस्