सोमबार, असार १५, २०८३

राज्य किसानप्रति अनुदार बन्दै गएको छ : महामन्त्री पौडेल

 |  सोमबार, असार १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०८३

रौतहट । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले वर्तमान सरकार सुकुम्बासी र किसानका समस्याप्रति अत्यन्तै अनुदार देखिएको आरोप लगाएका छन्। २३औँ राष्ट्रिय धान दिवसको अवसरमा रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले किसानका समस्या समाधान गर्न बजेटमा कुनै विषय नल्याएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे। सरकार विपन्न र किसानको सहयोगी हुनुपर्नेमा बाधक बनेको देखिन्छ।

National life

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै कांग्रेस महामन्त्री पौडेलले तराईलाई कृषिको उर्वर भूमिका रूपमा चित्रण गर्दै भने, "यहाँका किसानहरूले अथक मेहनत गरेर देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेका छन्। तर विडम्बना ! समयमा मल र उपयुक्त बीउबिजनको अभाव हुँदा किसानले आफ्नो क्षमता र माटोको गुणस्तरअनुसार उत्पादन गर्न सकेका छैनन्।" 

उनले किसानका वास्तविक समस्याप्रति वर्तमान सरकार अनुदार र संवेदनहीन रहेको भन्दै आलोचना समेत गरे। अब जलवायु परिवर्तनको असर किसानहरूलाई पनि पर्ने देखिन्छ। राज्यले कृषकका समस्यालाई प्राथमिकतामा नराख्दा समग्र कृषि क्षेत्र नै धराशायी बन्दै गएको उनको भनाइ थियो।

सोही क्रममा नेता पौडेलले आफ्नो पार्टीको विगतको भूमिकालाई लिएर मञ्चबाटै आत्मसमीक्षा समेत गरे। हिजो नेपाली कांग्रेस सरकारको नेतृत्वमा रहँदा किसानको पक्षमा थुप्रै कामहरू भएको दाबी गर्दै उनले आफ्ना कमीकमजोरी भने स्वीकार गरे।

"हिजो नेतृत्वमा रहँदा किसानका लागि काम नै नभएको होइन तर अपेक्षित रूपमा किसानका सम्पूर्ण समस्या हल हुने गरी जसरी तीव्र गतिमा काम हुनुपर्ने थियो, त्यो हुन सकेन," पौडेलले भने, "त्यसका लागि म आम किसान दाजुभाइ तथा दिदीबहिनीहरूसँग क्षमा चाहन्छु।"  मधेशका मुद्दाका सवालमा जति आक्रामक हुनुपर्ने हो, त्यति हुन नसकेकोमा माफी माग्दै उनले आगामी दिनमा सुधार्ने वाचा गरे।

Shivam cement

कृषिको आधुनिकीकरण र किसानको जीवनस्तर उकास्न अब परम्परागत शैलीले मात्र नपुग्ने भन्दै उनले त्यसका लागि आफ्नो पार्टीले आगामी दिनमा ठोस कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरे।

२३औँ राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय किसान, कांग्रेसका कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित: Jun 29, 2026| 19:36 सोमबार, असार १५, २०८३
प्रतिक्रिया दिनुहोस्