काठमाडौं। साहित्यकार ललित विष्टको दोस्रो कथासंग्रह ‘उत्कर्ष’ माथि आयोजित ‘उत्कर्ष चिन्तन’ कार्यक्रममा वरिष्ठ कथाकार नयनराज पाण्डेले कृतिको सशक्त प्रशंसा गर्दै विष्टको लेखकीय शैलीको मुक्तकण्ठले तारिफ गरेका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नयनराज पाण्डेले ‘उत्कर्ष’ नेपाली कथासाहित्यमा फरक स्वाद र चेतना पस्किने अब्बल कृति भएको दाबी गरे। पाण्डेले भने, 'ललित विष्टले पाठकको सर्त पूरा गर्न होइन, बरु आफ्नै विशिष्ट शैली र कुरा पाठकलाई सुनाउने जोखिम मोलेका छन्। यो कृति नेपाली कथासाहित्यमा उनको एउटा ‘धासु’ पुनरागमन हो।'
पाण्डेले विष्टका कथाहरू परम्परागत लेखनभन्दा पृथक र नवीन प्रयोगले भरिएको उल्लेख गरे। 'कथाका कथानक र शिल्प नै यसका शक्ति हुन्। पात्र र घटनाक्रम सहज छैनन्, तर लेखकले ती असहज विषयलाई निकै कुशलतापूर्वक कथामा बुनेका छन्,' उनले भने। कृति पढिसकेपछि पाठकको मथिंगल केही दिनसम्म हल्लिने भएकाले यो कृति पढ्न ‘मुटु दह्रो बनाएर’ बस्नुपर्ने उनको भनाइ थियो।
विशेषगरी कथामा प्रयोग गरिएको बिम्बात्मक र काव्यात्मक भाषाले सामाजिक सौन्दर्य र मानवीय अवचेतनका गहिराइलाई छुन सफल भएको समीक्षा गर्दै पाण्डेले विष्टलाई एक ‘सचेत र बलिया कथाकार’ को संज्ञा दिए।
सामाजिक विसंगतिलाई मनोवैज्ञानिक सूक्ष्मताका साथ प्रस्तुत गर्न रुचाउने विष्टले यस कृतिमार्फत समकालीन नेपाली कथासाहित्यमा नयाँ आयाम थपेको पाण्डेले बताएका थिए।
विष्टको लेखकीय शिल्प मौलिक रहेको र प्रत्येक कथाभित्र अर्को कथाको तह बुनिएको भन्दै उनलाई नेपाली कथाका सम्भावनायुक्त स्रष्टाको रूपमा पाण्डेले व्याख्या गरे।
यस्तै पुस्तक लेखन पाठकको प्रेम भएको र यो संग्रह त्यही प्रेमको जवाफका रूपमा आएको लेखक विष्टको भनाइ थियो। फोनिक्स बुक्सद्वारा प्रकाशित यस संग्रहमा १० वटा कथाहरू समावेश छन्।