धनगढी । सुदूरपश्चिमको दुर्गम जिल्ला डोटीबाट सामाजिक सेवा र राजनीतिक अभियानमा सक्रिय नेतृ जानीका जोशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
लामो समयदेखि महिला सशक्तीकरण, सामाजिक न्याय र संगठन निर्माणमा क्रियाशील जोशीले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेकी हुन्।
आज धनगढीमा सञ्चारकर्मीहरू प्रतिक्रिया दिँदै जोशीले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सुदूरपश्चिमको तर्फबाट केन्द्रीय सदस्यका लागि आफू प्रतिस्पर्धामा उत्रिएको जानकारी दिइन्। रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहेकी जोशी पार्टीको वैचारिक आधारस्तम्भ मानिने ‘अक्षर अभियान’ मा संलग्न भई देशभर सङ्गठन विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएकी छन्।
पार्टी अध्यक्ष रवि लामिछानेले अन्याय र विकृतिका विरुद्ध सञ्चालन गरेका हरेक आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्व गर्दै आएकी जोशीलाई सुदूरपश्चिमका कार्यकर्ताहरूले पार्टीको एक दरिलो स्तम्भका रूपमा सम्मान गर्ने गर्छन्।
आफ्नो उम्मेदवारीबारे प्रस्ट पार्दै जोशीले राजनीतिमा महिलाको उपस्थिति केवल कोटा वा संख्यात्मक हुनु नहुने बताएकी छन्। राजनीतिमा महिलालाई अवसर दिनु दयाको विषय नभएर सक्षम नेतृत्वलाई जिम्मेवारी दिनु भएको जिकिर गर्दै उनले आफू पदका लागि नभई सांगठनिक जिम्मेवारी वहन गर्न मैदानमा उत्रिएको स्पष्ट पारिन्। उनले भनिन्, 'महिला केवल सहभागी होइनन्, उनीहरू नेतृत्वका हकदार हुन्। म पद खोज्न होइन, पार्टी र जनताप्रतिको जिम्मेवारी पूरा गर्न उम्मेदवार बनेकी हुँ।'
जोशीले निर्णय गर्ने केन्द्रमा सबै भूगोलको सम्मानजनक सहभागिता हुनुपर्नेमा जोड दिएकी छन्। सुदूरपश्चिम पार्टीको 'मुटु' भएको उल्लेख गर्दै उनले केन्द्रमा डोटीजस्ता दुर्गम क्षेत्रको आवाज अझै पनि कमजोर रहेको र त्यसलाई बलियो बनाउन आफ्नो उम्मेदवारी महत्त्वपूर्ण हुने दाबी गरिन्।
पार्टीको नीति निर्माणमा सबै वर्ग, क्षेत्र, समुदाय र युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य रहेको उनको भनाइ छ। विशेषगरी गाउँ, वडा र जिल्ला तहमा पसिना बगाउने कार्यकर्ताको भावना केन्द्रसम्म पुर्याउनु आफ्नो प्राथमिक दायित्व भएको उनले बताइन्।
राजनीतिप्रति आशा बोकेर आएका युवाहरूलाई निराश हुन नदिने र उनीहरूलाई प्रेरित गर्ने नेतृत्व अहिलेको आवश्यकता रहेको जोशीको धारणा छ। दुर्गम भेगको भूगोलले आफ्नो पाइलालाई कहिल्यै रोक्न नसकेको बताउँदै उनले आफ्नो उम्मेदवारीलाई डोटीका आम नागरिक र राज्यको मूलप्रवाहबाट पछाडि पारिएका महिलाहरूको प्रतिनिधित्वका रूपमा अथ्र्याएकी छन्।
समावेशी नेतृत्वले मात्र पार्टीलाई थप सुदृढ र जनप्रिय बनाउन सक्ने भएकाले महाधिवेशन प्रतिनिधिहरूले आफ्नो संघर्ष र योग्यतालाई न्याय गर्ने कुरामा उनी विश्वस्त छन्।