शुक्रबार, असार ५, २०८३

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.३१ प्रतिशत उत्तीर्ण

 |  शुक्रबार, असार ५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०८३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्।

National life

बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये २ लाख ६८ हजार १९० जना विद्यार्थीले सफलता हात पारेका छन्। नियमिततर्फको नतिजा विश्लेषण गर्दा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये ६९.७५ प्रतिशत अर्थात् २ लाख ३१ हजार ७७० विद्यार्थी सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। सोही समूहका १ लाख ४७१ विद्यार्थीले भने ‘एनजी’ (नन–ग्रेड) को सामना गर्नुपरेको छ, जुन नियमिततर्फको कुल परीक्षार्थी संख्याको करिब ३०.२५ प्रतिशत हो।

परीक्षामा अमर्यादित गतिविधिमा संलग्न ४० जना परीक्षार्थीको परीक्षा भने बोर्डले रद्द गरेको छ।

नतिजाअनुसार उत्तीर्ण विद्यार्थीमध्ये सबैभन्दा धेरै २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने समूहमा रहेका छन्। विवरणअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने १७ हजार ७८६ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना र २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना रहेका छन्। त्यसैगरी, २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ जना र १.६१ देखि २.०० जीपीए ल्याउने ९ जना विद्यार्थी रहेका छन्।

बोर्डले नतिजासँगै पूरक (मौका) परीक्षाको समेत मार्ग प्रशस्त गरेको छ। नीतिगत व्यवस्थाअनुसार सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड ल्याउन नसकेका, बढीमा दुई विषयमा ‘एनजी’ आएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन्। बोर्डले यससम्बन्धी समयतालिका छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ।

Shivam cement

विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकमको वेबसाइट तथा एसएमएस सेवामार्फत सहज रूपमा हेर्न सक्नेछन्।

प्रकाशित: Jun 19, 2026| 10:22 शुक्रबार, असार ५, २०८३
प्रतिक्रिया दिनुहोस्